क्यान्सर पीडित सिमाका ‘असीमित’ दुःख, उपचारकै क्रममा घरखेत बेचियो



शुभाकर विश्वकर्मा । कोहलपुर ।

एकतिर कुमारी थापा ‐आमा) मलिन मुद्रामा बसिरहेकी छिन् । अलि पर खाटमा पल्टिएर आमालाई चिहाइरहेकी छिन् सिमा शिरिसले । पुग न पुग एकमिटरको दुरीमा बसिरहेकी छन् दुवै जना । कुमारीको अनुहारमा देखिएको भावले गहिरो निराशा प्रकट गरिरहेको छ । सिमाको हेराईले केही सोचिरहेको, कसैलाई एकटकले हेरिरहेको भान हुन्छ । त्यसै भनिएको होइन होला, ‘एउटा तस्बिरले हजार भन्दा बढी शब्द बोल्छ ।’ यस्तै दुःखै दुःखको जीवन गुजारिरहेका एक आमाछोरीको दृष्य हो यो, कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरको । पूर्व–पश्चिम राजमार्गको कोहलपुर–धनगढी खण्डको मुल सडकबाट सय मिटर भित्र कच्ची बाटो हुँदै पुगिन्छ सिमाको घरमा । कच्ची सडकको दक्षिणतर्फ एक इट्टावाला घरमा बस्छिन् उनी ।

असारको महिना । टल्टलापूर्ण घाम । टिनले छाएको घरमा पंखा लगाएर खाटमा पल्टिरहेकी थिइन् । पाठेघरको क्यासरका कारण थला परेकी उनको हरेक दिनको सारथी यही खाट बनेको छ । पंखा सितलता दिन्छ त केवल बाहिरी रुपमा । भित्री मनमा शितलता छैन सिमाको । पाँच वर्षअघि पाठेघरको क्याक्सर भएपछि सिमाको दैनिकी यसरी नै बितिरहेको छ । जतिजति दिन बित्दै जान्छ । उनको घाउ झन् बढिरहेको छ । पहिलो पटक पाठेघर क्यान्सर भएको २०७२ सालमा पत्ता लागेको हो । सिमाको २०५६ सालमा १८ वर्षको उमेरमा विवाह भएको थियो । अहिले २० वर्षकी छोरी छन् । छोरा समेत १५ वर्षका छन् । घरको सम्पूर्ण अवस्था सिमाका श्रीमान लालबहादुर शिरिस र छोराले मजदुरी गरेर धानिरहेका छन् । उनी भने क्यान्सरका कारण थला परेर बसिरहेकी छन् । घरको आर्थिक अवस्था नाजुक भएका कारण उपचारमा निकै समस्या भएको उनले बताइन् । ‘विवाह गरेदेखि नै समस्या देखिएको थियो । औषधि गरिरहेको थिए ।

क्यान्सर पीडित सिमा शिरिस

बीचमा पाठेघरमा नै क्यान्सर भएको थाहा भयो । अहिले पनि उपचार भइरहेको छ’ उनले भनिन् । उनका अनुसार अहिलेसम्म उपचारको लागि घरमा भएको सम्पत्ति सकिसकेको छ । थप उपचार र पाठेघरको अप्रेसनको लागि आर्थिक अवस्थामा नाजुक भएका कारण सम्भव भएको छैन । विगत दश वर्षदेखि पाठेघरको उपचार गर्दै आएकी उनको अहिलेसम्म कति खर्च भयो एकिन नै छैन । विरामी हुनु भन्दा पहिला फ्रेस हाउस चलाउँथिन् । त्यहीबाट कमाएको पैसाबाट बनाएको घर नै सिमाको उपचारको लागि बेच्नु परेको छ । उनले आफ्नै बहिनीलाई घर बेचेकी थिइन् । अहिलेसम्म दुई पटक अप्रेसन गरेपनि पूर्ण रुपमा सन्चो नभएको उनले जानकारी दिइन् । पछिल्लो समय पाठेघरमा ‐मासु) पलाउँदा झन् समस्या भएको सिमाले बताइन् ।

पाठेघरमा मासु पलाएको शंका गर्ने प्रमुख कारण महिनावारी हुँदा धेरै रगत जानु, अत्याधिक पेट दुख्नु हो । महिनावारी हुँदा सामान्यतः५/६ दिनमा श्राव बन्द हुनुपर्छ । तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ । यसको दुखाई कम गर्नको लागि ‐किमो थेरापी) गर्नुपर्छ । २१ दिनको अन्तरालमा । यसमा औषधि तथा इन्जेक्सनको माध्यमद्वारा बिरामीको उपचार गरिन्छ । यो निकै महंगो समेत छ । डाक्टरहरुका अनुसार महिलामा पाठेघर क्यान्सर निकै जटिल अवस्था हो । समयमै उपचार नभए महिलाको मृत्यु समेत हुनसक्छ । एकपटकको किमो थेरापीको लागि ३० हजार र औषधिको लागि १० हजार रुपैयाँ गरि महिनामा ४० हजार रुपैयाँ चाहिन्छ । लकडाउन शुरु हुन पुर्व उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो ।

लकडाउनका कारण घर फर्किएपछि आर्थिक समस्याका कारण किमो थेरापी हुन सकेको छैन । किमो नगरेपछि उनको घाउ बल्झिएपछि निकै समस्या भयो । असार पहिलो साता उनले केही सहयोगी दाताहरुको सहयोगमा खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा थेरापी गरिएको थियो । ‘पाघर क्यान्सरको अपे्रसन बाहेक अर्को विकल्प छैन । घरको अवस्था निकै जटिल बन्दै गएको छ । मेरो उपचारको लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् । अहिले सिमाको उपचारको लागि टोल कै युवा समूहले आर्थिक सहयोग गरेको छ ।

एभरेष्ट युथ क्लवको समन्वयमा वैदेशिक रोजगारमा गएकाहरुले ३० हजार रुपैयाँ सहयोग गरेका थिए । क्लवकै अगुवाईमा सिमा बचाउ अभियान नै सुरु गर्न लागिएको क्लवले जनाएको छ । टोल विकास समितिका अध्यक्ष समेत रहेका युवा कविराम पुलामी मगरले सिमाको जीवन रक्षाको लागि सबैसँग अपिल गरेको छ । सिमाकी आमा कुमारी थापाले पनि क्यान्सर पीडित छोरीको उपचारको लागि सहयोग गरिदिन अनुरोध गरिन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २३ गते मंगलबार