19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

बाँकेका थप पाँचमा कोरोना पुष्टि, ३३८ जना कोरोना जितेर घर फर्किए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २१, २०७७  

नेपालगञ्ज ।

बाँकेका विभिन्न पालिकामा गरेर थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा जिल्लाका थप पाँच जना कोरोना पुष्टि भएको हो ।

शनिबार थपिएकाहरुमा कोहलपुर नगरपालिका २, जानकी, राप्तीनारी र बैजनाथ गाउँपालिका एक एक जना रहेका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर वडा नम्बर ३ र १० का एक–एक जना, जानकी ३ का एक जना, राप्तीसोनारी ७ का एक जना र बैजनाथ २ का एक जनामा कोरोना पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६८ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ८ हजार ९ सय १० जनाको आरडीटी विधिबाट परीक्षणको गरिएको छ भने ७ हजार ४ सय १६ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ३ सय ६८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने ६ हजार ९ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी १३८ जनाको स्वाब परीक्षणको क्रममा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका ३३८ जना संक्रमितहरु कोरोना जितेर घर फर्किएको कोरोनाका स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । त्यसमध्ये २३ महिला र ३१५ जना पुरुषहरु रहेका छन् । अझै ९ महिला र १९ पुरुष गरेर २८ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । बाँकेमा शनिबार साँझसम्म कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका एक पुरुष र बैजनाथ गाउँपालिकाकी एक महिला रहेकी छिन् ।

प्रकाशित मितिः आइतवार, असार २१, २०७७     9:53:58 AM  |