नेपालगञ्ज ।
बाँकेका उद्योगी व्यवसायीहरुले ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । बिहिबार नेपालगञ्जमा भएको एक कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुका अगुवाहरुले ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका थिए । कोरोना (कोभिड–१९) नियन्त्रण गर्न तीन महिनादेखि निरन्तर लागु गरेको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघले सरोकारवाला निकायसँग छलफल आयोजना गरेको थियो ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रबन्धक र उद्योगी, व्यवसायी सहभागि कार्यक्रममा उद्योगीहरुले यस्तो समस्या राखेका हुन् । उद्योगी, व्यवसायीले राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसारको ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सामान्य राहत समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाको आलोचना गरे ।
‘यत्रो महासंकट आयो । त्यसले गर्दा उद्योग, व्यवसाय प्रभावित बनेको जगजोहर नै छ तर कुनै राहत दिइएन’ उनले भने, ‘राहतको प्रभावकारी कार्यान्वयन र थप राहतका लागि राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्छ ।’ छलफल कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले उद्योगी, व्यवसायीले तीन महिनाको अवधिमा कुनै पनि उद्योग, व्यवसाय नचलेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको दुःखेसो पोखे ।
थप सहुलियतका लागि सरकारको ध्यानार्कषण गराउँदै नयाँ मौद्रिक नीतिबाट व्यवसायीका समस्या समाधान हुने अपेक्षा समेत उनले गरेका थिए । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा लगायत छलफलमा सहभागि अन्य बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरुले नियम अनुसारको सहुलियत पाउनेमा ढुक्क हुन आग्रह गरे । थप सहुलियत दिन नीतिगत निर्णय आवश्यक पर्ने बताउँदै उनले भने,–‘यो केन्द्रीय तहको कुरा भयो । बाँकी हाम्रो तहमा भएका निर्णय कार्यान्वयन हुनेमा म ढुक्क हुन आग्रह गर्छु ।’ सापकोटाले राष्ट्र बैंकका निर्देशन पालना नभएको अवस्था आएको भए आफुलाई खबर गर्न पनि आग्रह गरेका छन् ।
संघले ब्याजदरमा सहुलियत र अन्य राहतका कार्यक्रमको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने योजना समेत बनाइरहेको संघका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए । सोही योजना अन्र्तगत बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी, व्यवसायीबीच छलफल आयोजना गरिएको उनले बताए । छलफलमा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्म अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, बरिष्ठ उद्योगपति कन्हैयाल बैद्य, प्रवक्ता टंकबहादुर धामी, बरिष्ठ सदस्य बसन्त लामिछाने, कार्यसमिति सदस्य टंक शर्मा, सलाउद्धिन जसगढ, भिम रानाभाट, उषा भण्डारी लगायतले विभिन्न सुझावहरु दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्