कोहलपुर ।
बाँके बर्दियाका केही पालिकाहरुमा सलह किरा देखिएको छ । शनिबार पहिलोपटक नेपालमा देखिएको सलह सोमबार बाँके बर्दियामा समेत देखिएको हो । बाँकेको खजुरा गाउँपालिकामा सलह किरा देखिएको थियो । खजुरा गाउँपालिका वडा नम्बर–३ स्थित खर्कबहादुर पुन मगरको खेतबारीमा सलह किरा देखिएको गाउँपालिकाकी कृषी शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिइन् । ‘सोमबार साँझपख खजुरामा पनि सलह किरा देखिएको पाइएको छ । गाउँपालिकाको कुन–कुन क्षेत्रमा कतिको मात्रामा सलह आएको छ त्यसको विवरण लिइरहेका छौं ।’
उनले मिसन टुडेसँग भनिन्, ‘गाउँपालिकामा सलह देखिएसँगैं यसको रोकथामका लागि आवश्यक पहल भइरहेको छ ।’ समूहमा आएको सलह किरा सोमबार नेपालको पश्चिम क्षेत्र लागेको बताइएको छ । पश्चिमी क्षेत्रमा मात्र होइन उत्तरी क्षेत्रमा समेत सलह देखिएको बताइन्छ । सोमबार नै बर्दियाको राजापुर क्षेत्रमा पनि सलह किरा देखिएको थियो । राजापुर क्षेत्रको गेरूवा गाउँपालिकाको वडा न १ जनकनगर र बगहिपुरमा सलह किरा देखिएको हो । खेतमा सहलको एक झुन्ड देखिए पछि स्थानीयले मादल र थाल ठटाएर सलह किरालाई भगाएको वडाध्यक्ष दयाराम थारूले जानकारी दिए ।
स्थानीयले करिव एक सय जति सलह किरा मारेको वडाध्यक्ष थारूले बताए । ठूलो संख्यामा सलह किरा नआएको हुंदा धानबालीमा क्षति भने नभएको बताइएको छ । राजापुर क्षेत्र धानको सुपर जोन क्षेत्र हो । राजापुर क्षेत्रमा सहल किरा देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले पुष्टि गरे । सलह किराको डरले किसानले बालीमा विषादी छर्केका
छन् । सलह किरा देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । सलह किरा भारतबाट आएको अनुमान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्