कोहलपुरको नीति तथा कार्यक्रम पारित



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाको आगामी आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम सोमबारको बैठकबाट सर्वसम्मत रुपमा पारित भएको हो । गत असार १० गतेको नगर सभामा नगर प्रमुख लुट बहादुर रावतद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमा नगरसभाका सदस्यहरुले सभामा दिएका आवश्यक सुझावहरुलाई नीति तथा कार्यक्रममा समाबेस गर्ने गरी नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो ।

कार्यतालिकामा निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिलो शुरु भएको बैठकमा सभामुखको भूमिकामा रहेका नगर प्रमुख रावतले सभाषद्हरुलाई नीति तथा कार्यक्रम माथि आ–आफ्नो धारणा राख्ने शुन्य समय उपलब्ध गराएका थिए । निर्धारित समयमा सभासद रेशम बहादुर खत्री, निम बहादुर चलाउने, भीम बहादुर नेपाली, गोपी खनाल, जागिर अलिसाई, अनिता बुढा लगायतले नीति तथा कार्यक्रम माथि आफ्ना धारणा राखेका थिए । त्यस्तै उप–प्रमुख सन्जु कुमारी चौधरीले सभामा कोहलपुर नगरपालिकाको आ.व. २०७७÷०७८ आर्थिक ऐन प्रस्तुत गरिन् । सो ऐन माथि आगामी बैठकमा दफवार छलफल हुने सभालाई जानकारी गराउँदै सभामुखले अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १६ गते मंगलबार