शल्यक्रिया गरिएकी कोरोना संक्रमित सुत्केरी डिस्चार्ज



कोहलपुर ।
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोरोना संक्रमित सुत्केरी निको भएर बच्चासहित डिस्चार्ज भएकी छन् । गर्भवती अवस्थामा कोरोना संक्रमण पुष्टि भएपछि शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । शनिबार घर फर्केकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा अनि अविर लगाएर बिदाइ गरेका थिए ।

 

कपिलवस्तु कृष्णनगर निवासी कोरोना संक्रमित २७ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणबाट मुक्त भइ आफनो बच्चासहित शनिबार डिस्चार्ज भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । ‘आमा र बच्चा दुवैको दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो,’ उनले भने, ‘आमा बच्चा दुवैको अवस्था राम्रो छ ।’

३८ हप्ताकी कोरोना संक्रमित गर्भवती ती महिलाको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असार ६ गते शल्यक्रिया गरिएको हो ।

शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको स्वाबको नमुना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई कोभिड वार्डबाट असार १० गतेदेखि आइसोलेसन वार्डमा सारिएको थियो । ती महिला र बच्चाको दोस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनी कपिलवस्तुको भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर भइ थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा असार ६ गते भर्ना भएकी थिइन् ।

भारतको मुम्बईबाट एक महिनाअघि नेपाल फर्किएकी ती महिला २२ दिनदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । उनलाई कपिलवस्तुमै जेष्ठ ३ गते कोरोना जाँच गर्दा पोजिटिभ देखिएको
थियो ।

यसअघि शुक्रबार नै कोहलपुर मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित समेत निको भएर घर फर्किसकेका छन् । यो अस्पताललाई सरकारले गम्भिर खालका कोरोना संक्रमितहरुको उपचार गर्नको लागि कोरोना लेभल–३ अस्पताल समेत तोकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १४ गते आइतबार