कोहलपुर क्षेत्रका अटो चालक भन्छन्, ‘सरकार ! दुःख गरेर खान नपाउने ?’



शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका–३ बानियाँभारका राजु सार्की अटो रिक्सा चलाएर जिविकोपार्जन गर्छन् । उनले अटो रिक्सा चलाउन थालेको एक वर्ष भयो । पछिल्लो समय लकडाउनका कारण झण्डै तीन महिना अटो घरमै थन्कियो । कोरोना कहरका कारण लकडाउन भएपछि सरकारको नियम अनुसार उनी अटो रिक्सा नचलाएरै बसेका थिए । तर केही दिन अघि सरकारले निजी सवारी साधन जोरविजोर प्रणाली मार्फत चल्न दिने निर्णय गरेपछि उनी नियमित काममा
फर्किए । दुई दिन निर्वाध अटो चलाएको भएपनि तेस्रो दिन ट्राफिक प्रहरीले अटो चल्न दिएनन् । उनी निराश भएर घर फर्किए । सार्कीले सरकारको निर्देशन अनुसार ट्राफिक प्रहरीले जोर विजोर प्रणालीमा चलाउने बताएका कारण आफ्नो पछिल्लो दिन पनि घरमै बसेको बताए ।

विहीबार भने जोरविजोर प्रणाली अन्तर्गत उनको अटोको पालो थियो । त्यही सोचेर केही कमाई होला भनेर आएपनि । तर एकाएक उनको अटो ट्राफिक प्रहरीले नियन्त्रणमा लिए । ‘सरकारको निर्देशन अनुसार तीन महिना भोकभोकै बसियो । अहिले लकडाउन खुकुलो भएसँगै अटो चलाएर केही कमाई होला भनेर आएको हुँ । तर अटो नियन्त्रणमा लिइयो ।’ जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरको कार्यालय परिसरमा भेटिएका उनले भने । यहाँ गरिबको पक्षमा सरकार नै छैन । घण्टाघण्टा नियम बदल्छन् । घरमा खाने कुरा केही नभएपछि केही कमाइ होला र साँझको टाक टारौला भनेर आएको उनी बताउँछन् । उक्त कार्यालयमै भेटिएका ३५ वर्षीय रत्न बहादुर भण्डारीको पनि गुनासो यो भन्दा फरक छैन ।

‘घरजहान पाल्ने उपाय नै छैन । केही दिनदेखि अरु अटो चल्न थालेपछि सरकारले चल्न दिएको होला भनेर मैले पनि चलाएको हो । आज विहानै देखि यही बसेको छु’ उनले भने । भण्डारीले बारम्बार सरकारले अटो चलाउने माथि यस्तै दुव्र्यवहार गर्दै आएको दाबी गरे । अटोबाट कमाई भएन भने साँझ के खाने भन्ने टुंगो नहुँने उनले बताए ।विपत्तिको बेला सरकारको नियम सबैले पालना गर्नुपर्ने बताउँदै भण्डारीले सरकारले पनि गरिब दुःखी र कामगरि खाने मान्छेका समस्या बुझेर निर्णय लिनुपर्ने बताए । ‘कहिले चल्न दिने, कहिले नदिने, यो कस्तो नियम हो । रोकेपछि सबैको रोक्नु पर्ने हो । कसैको रोक्ने कसैको नरोक्ने विभेद किन । खै माथिको निर्देशनपछि मात्रै अटो दिन्छु भन्छन्’ उनले भने ।

सरकारले देशभर नै निजी सवारी साधान जोरविजोर प्रणाली मार्फत चलाउने निर्णय गरेपछि बाँकेमा अटो रिक्साहरु चल्न थालेका थिए । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रमा ठूलो मात्रामा अटो रिक्सा सञ्चालनमा आएपछि प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको हो । अटो रिक्सा कै कारण मानिसहरुको आवातजावत बढेको र कोरोना संक्रमणको जोखिम बढेको भन्दै नियन्त्रणमा लिन थालिएको बाँके प्रहरीले जनाएको छ । ट्राफिक कार्यालयले कोहलपुरमा केही दिनयता निर्वाध सञ्चालन भइरहेका अटो रिक्साहरुले मानिस बोक्ने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पविन्द्र बमले देशभर कोरोना कहर बढ्दै गएको र अटो रिक्सा पनि सार्वजनिक सवारी अन्तर्गत पर्ने भएकाले जोखिम हुन सक्ने भन्दै नियन्त्रणमा लिइएको बताए । उनका अनुसार केहीदिन यता नेपालगञ्ज, कोहलपुर लगायतका क्षेत्रमा ठूलो संख्यामा अटो रिक्सा चलिरहेका थिए । उनले जोखिम झन् बढ्न सक्ने खतरा भएकोले निर्णय कार्यान्वयन गर्न सजिलोको लागि नियन्त्रणमा लिइएको दाबी गरे । ‘हामीले विहानैदेखि कोहलपुरमा अटोहरु नियन्त्रणमा लिएका थियो । लकडाउन जारी नहुञ्जेलसम्मका लागि नचलाउने गरि सबैको जिम्मा लगाइदिएका छौं’ मिसन टुडे दैनिकसँगको कुराकानीमा ट्राफिक प्रहरी निरीक्षक बमले भने ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ६ गते शनिबार