कोहलपुर ।
बाँकेको कोहलपुरमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गरिएको छ । बुधबार दिउँसो नेपाली सेनाको भैरवप्रसाद गणको विशेष तालिम प्राप्त टोलीले शव व्यवस्थापन गरेको थियो । नेपाली सेनाको टोलीले सङ्क्रमित महिलाको शवलाई कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पतालबाट प्लाष्टिकमा बेरेर मानखोला नजिकैको जंगलमा लगेर गाडेको हो । सङ्क्रमितको शवलाई बोक्न सवारी साधनको समस्या भएपछि बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफूले प्रयोग गर्ने पिकअप गाडी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
सङ्क्रमित महिलाको शवलाई मानखोलाको जंगलमा जेसीबीबाट खाल्डो खनेर गाडिएको थियो । गत जेठ ३० गते दिउँसो कोहलपुर शिक्षण अस्पतालको आपतकालिन कक्षमा भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिका ६ का ४६ वर्षीया महिलाको सोमबार बेलुका साँढे ६ बजे मृत्यु भएको थियो । दायाँ फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । मंगलबार बेलुका आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ती महिलाको ज्यान गएको हो । मृत्यु भएपछि महिलाको शव अस्पतालकै शवगृहमा राखिएको थियो ।
बैजनाथकी ती महिलाको मृत्युुसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ । यसअघि जिल्लाको नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृत्यु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको शवलाई पनि सेनाको टोलीले राप्ती नदीको किनारमा जेसीबीले खाल्डो खनेर गाडेको थियो ।
अर्की मृतकमा पनि कोरोना पुष्टि
कोहलपुर मेडिकल कलेजमा उपचाररत कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. २ की ४३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेज मृत्यु भएको हो । उपचारका लागि कोहलपुरमा आएकी महिलाको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षण गर्दा बुधबार साँझ कोरोना पुष्टि भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार मृतक महिलामा कोरोना पुष्टि भएको छ । न्यूरो समस्याले गर्दा महिला उपचार गर्न कोहलपुर आएकी थिइन् । मृतकको शव कोहलपुर मेडिकल कलेजमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्