कोरोना संक्रमित बढेपछि कोहलपुरको सक्रियता आइसोलेसन सेन्टर खोजिदैं



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण देखिन थालेपछि बल्ल कोहलपुरमा आइसोलेसन खोज्न थालिएको छ । कोहलपुर नगरपालिकामा पहिलोपटक बुधबार एकैदिन तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार साँझसम्म नगरका दुई वडामा गरी ४ जनामा कोरोना संक्रमितहरु फेला परेपछि नगरपालिकाले आइसोलेसन खोज्न थालेको हो । कोहलपुरका वडा नम्बर २ र वडा नम्बर १२ मा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैजना भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका युवाहरु हुन् ।

नगरका विभिन्न वडामा बनाइएका क्वारेन्टिनमा अहिले ६ सय भन्दा बढी भारतबाट आएका नागरिकहरु बसिरहेका छन् । यहाँका अधिकांश सामुदायिक विद्यालयहरुलाई अस्थायी क्वारेन्टिनको रुपमा विकास गरिएको छ । संक्रमितको संख्या बढ्न सक्ने आंकलन गरेर नगरपालिकाले होटलमा आइसोलेसन बनाउने जनाउ दिएको छ । बिहीबार एक सूचना जारी गरेर नगरपालिकाले आइसोलेसन सेन्टर बनाउनको लागि होटल चाहिएको बताएको थियो । नगर भित्रका होटललाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गर्ने उद्देश्यले यहाँका व्यवसायीहरुलाई होटल दिनको लागि आह्वान गरिएको हो । ‘क्वारेन्टिनमा रहेका व्यक्तिहरुको कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने भएको हुँदा होटल उपलब्ध गराउन इच्छुक होटल व्यवसायीलाई सर्त सहित प्रस्ताव पेस गर्न अनुरोध गरिन्छ’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । उक्त सूचनामा उल्लेख गरे अनुसार आइसोलेसन सेन्टरको लागि होटल प्रयोग गर्न दिने व्यवसायीले केही सर्त भने पालना गर्नुपर्नेछ ।

उक्त होटलमा एजेट बाथरुम सहित टिभि र भ्यान्टिलेसन सहितको उज्यालो कोठा हुनुपर्ने बताइएको छ । यस्तै एउटै कोठामा २ जना दुई मिटरको दुरीमा राख्न मिल्ने खालका सरसफाई युक्त हुनुपर्ने र खानासहित कति दर रेटको खुलाउनुपर्नेछ । अहिले कोहलपुर वडा नम्बर ९ मा रहेको कृषि तालिम केन्द्रमा ६५ बेडको आइसोलेसन सेन्टर रहेको छ । त्यहाँ यस अघि नरैनापुर गाउँपालिकाका ४१ जना संक्रमितको उपचार गरिएको थियो । अहिले कोहलपुरका ४ जना संक्रमितको समेत त्यहाँ नै राखेर उपचार भइरहेको छ । कोेहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुरका अन्य क्षेत्रमा आइसोलेसन सेन्टर बनाउने उपयुक्त स्थान नभएको र होटलमा राख्दा उपयुक्त हुने देखेर सूचना जारी गरिएको जानकारी दिइन् । सबैभन्दा राम्रो र सस्तो होटललाई आइसोलेसनको रुपमा प्रयोगमा ल्याइने उनले बताइन् । ‘पूर्वतयारी अवस्थामा रहनको लागि नगरपालिकाले उपयुक्त होटल खोजेको हो । नेपाल सरकारको मापदण्ड अनुसार छनोट हुन्छ । पछि कोरोना संक्रमित बढ्ने सक्ने सम्भावना रहेकोले यसो गरिएको हो’ मिसन टुडेसँगको कुराकानीमा उप–प्रमुख चौधरीले भनिन् । नगरमा रहेका क्वारेन्टिनमा अहिले पनि धेरैजना भारतबाट आएका नागरिकहरु बसेका छन् । उनीहरुको कोरोना परीक्षण गर्न अझै बाँकी छ । अहिले १४ दिन क्वारेन्टिनमा बसेका नागरिकहरुको नगरपालिकाले आरडीटी परीक्षण गरेर नेगेटिभ आए घर पठाउने गरेको छ ।

पीसीआर होइन आरडीटी गरेर घर

कोहलपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आरडीटी विधिबाट कोरोना परीक्षण तीव्र पारिएको छ । देशभर आरडीटी जाँच गर्न बन्द गर्नुपर्ने माग उठिरहेका बेला कोहलपुर नगरपालिकाले भने आरडीटी परीक्षणलाई नै ध्यान दिएको हो । नगर स्वास्थ्य शाखा कोहलपुुरले संक्रमितको सम्पर्कमा रहेका व्यक्ति र क्वारेन्टिनमा बसिरहेका नागरिकहरुको आटडीटी विधिबाट जाँच भइरहेको जनाएको छ । नगर स्वास्थ्य प्रमुख डिल्ली राज पोखरेलका अनुसार वडा नम्बर १२ का संक्रमितको सम्र्पकमा रहेका एक गर्भवतीसहित वडा नम्बर २ संक्रमितको सम्पर्कमा रहेका व्यक्ति तथा स्वास्थ्यकर्मी ११ जनाको पीसीआर परीक्षण गरिएको छ । उनले शुक्रबार मात्रै कूल ६५ जनाको आरडीटी जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । ‘संक्रमित आइसोलेसनमा छन् । अन्यको आरडीटी परीक्षण तीव्र बनाइएको छ ।

शुक्रबार परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ । अन्य वडामा समेत आरडीटी जाँच छिटै हुन्छ’ उनले भने । शुक्रबार वडा नम्बर १ मा २६, वडा नम्बर २ मा ९, वडा नम्बर ११ मा २३ जनाको आरडीटी जाँच गरिएको थियो । यस्तै वडा नम्बर १० मा २, वडा नम्बर ९ मा ७ जनाको जाँच गरिएको हो । यता जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सबै स्थानीय तहलाई आइसोलेसनबाट डिस्चार्ज गर्ने विषयमा सरकारको निर्देशन अनुसार गर्न पत्राचार गरेको छ । आइसोलेसनमा रहेका व्यक्तिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारि गरिएको ‘नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ अनुसार डिस्चार्ज गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएको हो ।

नेपालगञ्जमा सुविधायुक्त आइसोलेसन

बाँकेको नेपालगञ्जमा सुविधायुक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । बाँके जिल्ला संकट व्यवस्थापन समितिले बनाएको आइसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नेपाल औद्योगिक विकास निगमको भवनमा सुविधायुक्त आइसोलेसन केन्द्र बनाइएको थियो । सोही सञ्चालनमा ल्याइएको बाँके जिल्ला संकट ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए । बाँके जिल्ला संकट ब्यवस्थापन समितिको मातहत रहने गरी प्रदेश ५ मै पहिलोपटक यस्तो खालको आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । यस आइसोलेसनको क्षमता २५ बेडको रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार केन्द्रमा अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याव सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतको सुविधा रहेको छ । यसअघि तयार भैसकेपछि सो केन्द्रको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निरीक्षण गरेका थिए । सो क्रममा उनले अधिकतम् सुविधा हुने गरी नमुना आइसोलेसन बनाउन निर्देशन दिए । भवन बाहिर निकै घाँसहरु रहेकोले सो वरपरको सरसफाईदेखि सबै कुराको उपयुुक्त ब्यवस्थापन गर्न विशेष निर्देशन प्रजिअ कुरुम्बाङले दिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३१ गते शनिबार