कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा पहिलोपटक कोरोना भाइरस (कोभिड( १९) संक्रमण देखिएको छ । बुधबार कोहलपुर–१२ चप्परगौडीको ज्ञानज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ३ जना युवामा कोरोना पुष्टि भएको हो ।
उनीहरु एउटै कोठामा बसेका युवा रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डिल्ली पोखरेलले जानकारी दिए ।
भेरी अस्पताल नेपालगञ्जको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा कोहलपुर १२ का १८ वर्षका दुई र २२ वर्षका एक युवकमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पत्रकार सम्मेलनमा कोहलपुरका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
८ जेठमा भारतको महाराष्ट्रलगायतका राज्यबाट आएका उनीहरुलाई सुरुमा बागेश्वरी बहुमुखी क्याम्पस र ४ दिनपछि ज्ञान ज्योतिको क्वारेन्टिनमा स्थानान्तरण गरिएको संयोजक पोखरेलले बताए ।
क्यारेन्टिनमा बसेको १४ दिनमा आरडीटी परीक्षण गर्दा एक युवकको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । पोजिटिभ रिपोर्ट आएको युवासँगै एउटै कोठामा बसेका अन्य चार गरी ५ जनाको २१ जेठमा स्वाब संकलन गरी भेरी अस्पताल पठाइएको थियो । ३ जनाको पोजिटिभ र दुई जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक पोखरेलले जानकारी दिए ।
संक्रमितलाई कोहलपुरकै पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रको आइसोलेसन सेन्टरमा राखिने कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुरमा आरडीटी पोजिटिभ रिपोर्ट आएका थप ६ जनासहित १७ जनाको रिपोर्ट भने अझै आउन बाँकी रहेको छ । बाँकेमा १९ वैशाखमा नेपालगञ्ज ५ का ६० वर्षका वृद्धमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्लाका अन्य सात स्थानीय तहमा कोरोना पुष्टि भए पनि कोहलपुरमा कोरोना देखिएको थिएन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका सबै स्थानीय तह (८ वटै) मा कोरोना संक्रमितको संख्या दुई सय ८२ पुगेको छ ।
कोरोनाबाट नरैनापुर गाउँपालिका ५ का २५ वर्षका एक युवाको निधन भइसकेको अवस्था छ । कोरोना जितेर घर फर्कनेको संख्या १ सय ३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ जानकारी दिए । अन्यहरुको अवस्था समेत सामान्य रहेको छ ।
पहिलोपटक कोहलपुरमा कोरोना संक्रमितहरु फेला परेपछि स्थानीयहरु त्रसित बनेका छन् । भारतबाट आएर क्वारेन्टिनमा बसेका सबैको आरडीटी नभएर पीसीआर परीक्षण गर्न उनीहरुले माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्