सम्झनाका स्थानीय भन्छन्, ‘अनुसन्धान गरेर असईमाथि कारबाही हुनुपर्छ’



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयले विवादमा आएका प्रहरी इन्चार्जमाथि अनुसन्धान गरि कारबाही हुनु पर्ने माग गरेका छन् । कोरोना कहरको समयमा नागरिकको सुरक्षामा खटिएका प्रहरी चौकीका ईन्चार्जको भूमिकालाई लिएर विरोध भइरहेको अवस्थामा उनी माथि सम्बन्धित निकायले अनुसन्धान गरि कारबाही गर्नु पर्ने माग स्थानीयले गरेका हुन । प्रहरी चौकी सम्झना चोकका इन्चार्ज असई अमर बहादुर खत्रीका विषयमा सामाजिक सञ्जाल तथा विभिन्न पत्रपत्रिकामा समेत उनको भूमिकालाई लिएर असन्तुष्टि आइरहेको अवस्थामा सम्बन्धित निकायले छानविन गर्नु पर्ने उनीहरुको भनाई छ ।

विपत्तिको समयमा प्रहरीको भूमिका माथि नै विवादित हुनु राम्रो कुरा नभएको उनीहरुले बताएका छन् । यस अघि मिसन टुडे दैनिकले जेष्ठ २२ गते ‘निजी एग्रोभेटमा प्रहरी इन्चार्जको ड्युटी’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि उक्त क्षेत्रमा रहेका एग्रोभेट तथा पसलहरुमा भीडभाड कम भएको छ । तर त्यहाँका स्थानीयले भने प्रहरी इन्चार्जका विषयमा सम्बन्धित निकायबाट स्पष्ट धारणा बाहिर आउनु पर्ने बताउँछन् । स्थानीय तथा समाजसेवी नैने रोकायले प्रहरी कै उपस्थिति रहेको ठाउँमा सामाजिक दुरी कायम नहुनु र उनको भूमिकालाई लिएर विवाद सिर्जना हुनु राम्रो कुरा नभएको बताए ।

उनका अनुसार आफूले त्यस दिन त्यहाँको अवस्थाको विषयमा थाहा नपाएपनि जेष्ठ १९ गते एक एग्रोभेटमा भएको भीडभाडका विषयमा कुरा आइरहेको छ । प्रहरीले कुनै एक पसलमा गएर ड्युटी गरेको भए त्यो गलत कार्य भएको उनको भनाई रहेको छ । आम नागरिकको सेवामा खटिएको प्रहरीले कूनै अमुख व्यक्तिको स्वार्थ पुर्तिका लागि काम गरेको देखिएमा कारबाही हुनुपर्ने माग गरे । अर्का स्थानीय पृथ्वी रावतले सरकारको निर्देशन अवज्ञा गर्ने छुट कसैलाई पनि नरहेको बताए । उनले बिउविजन किन्ने समयमा अरुको बेलाको भन्दा मानिसहरुको भीड बढि हुनु स्वाभाविक भएपनि प्रहरीले त्यस क्षेत्रमा राम्रोसँग सुरक्षा दिन नसकेको बताए । बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका उनले त्यस क्षेत्रमा एग्रोभेटका सञ्चालकले सधै अटेरी गरिरहेको जानकारी दिए । ‘यस विषयमा सबै स्पष्ट हुनै पर्छ ।

प्रहरीको भूमिका माथि नै प्रश्न उठ्नु राम्रो होइन । यो विषयमा सुरक्षा निकायले गम्भीर भएर सोच्नै पर्छ ।’ सम्झना चोकमा व्यवसाय गर्दे आएका व्यवसायी लक्ष्मण गिरीले किसानका लागि आवश्यक धानको बिउ सिद्धबाबा मात्रै पाइने भएकोले यस्तो मानिसहरुको भीड बढी भएको बताए । ‘यहाँ बाँके र बर्दियाको किसान आउँछन् । प्रहरी भीडभाड नियन्त्रण गर्न गएको होला । अरु के कुरा छ थाहा भएन । एक जिम्मेवार प्रहरीले कुनै एक व्यक्तिलाई कुनै स्वार्थ अनुसार सघाउनु भएको भए त्यो गल्ति हो ।

भीड हटाउनु भनेको हो ड्युटी गर्न होइन

बैजनाथ गाउँपालिका वडा नम्बर ६ अध्यक्ष भद्रबहादुर बस्नेतले उक्त क्षेत्रमा स्थानीयबाट लकडाउन उल्लघंन गर्ने र सामाजिक दुरी काम गराउनको लागि प्रहरीलाई जानकारी गराइएको बताए । आफूले प्रहरी इन्चार्ज खत्रीलाई स्थानीयहरुले अटेरी गरेका कारण सुरक्षाको लागि आग्रह गरेको दाबी गरे । मिसन टुडेमा समाचार प्रकाशित भएपछि आफूसँग स्थानीयहरुले उक्त घटनाको विषयमा सोधिरहेको उनी बताउँछन् । ‘सम्झना क्षेत्रमा रहेका अन्य पसलहरु भन्दा एग्रोभेटमा अलि बढि मानिसहरुको भीड देखिन्छ । मैले बारम्बार सुरक्षा निकायलाई गस्ति बढाउन आग्रह पनि गरिरहेको छु । भीड हटाउनु प¥यो भनेको थिए, ड्युटी गर्नु भनेको होइन ।’

मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यता ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले उनलाई स्पष्टीकरण सोधिएको जानकारी दिउ । उनका अनुसार ती प्रहरी इन्चार्जले आफूले कुनै पनि गलत काम नगरेको बताएका छन् । ‘उनको विषयमा कुरा आइसकेपछि मैले उनलाई सोधेको थिए । उनले त्यस दिन आफू उक्त एग्रोभेट गएको स्विकार गरेपनि नराम्रो काम गरेको बताएका छन् । मैले अन्य माध्यमबाट समेत बुझन लगाइरहेको छु । केही नराम्रो काम देखियो भने त कारबाही हुन्छ । ’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २६ गते सोमबार