क्वारेन्टाइनमा बसेकाहरुलाई साना किसानको सहयोग



बैजनाथ, बाँके/  भारतबाट आएर बैजनाथका विभिन्न क्वोन्टिनमा बसेका नागरिकहरुका लागि स्थानीय व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गर्ने क्रम बढेको छ । कोरोना भाइरसका संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेकाहरुका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले खाजा, नास्ता, तरकारी फलफुल सहयोग गरिरहेका छन् । सोही क्रममा शनिबार बैजनाथ गाउँपालिका–८ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लि. टिटिहिरियाले तरकारी सहयोग गरेको छ ।

संस्थाको तर्फबाट क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि आलु, कटहर, लौका, फर्सी, बोरी लगायतका तरकारी सहयोग गरिएको सहकारी संस्थाकी सहायक प्रेणा काफ्लेले जानकारी दिइन् । भारतबाट आएर वडा नं.८ का नेरामावि बर्गदी र भगवती मावि हसनापुर क्वोन्टाइनमा बसेका व्यक्तिहरुका लागि उक्त तरकारी सहयोग गरिएको उनले बताइन् । यस्तै संस्थाकी अध्यक्ष निर्मला रोकायले कोरोना भाइरसका कारण भारतबाट आएर क्वारेन्टाइनमा बसेका दाजुभाई तथा दिदीबहिनीहरुलाई केहि राहत मिलोस् भनेर आफ्नै संस्थाका कृषकहरुले उत्पादन गरेका ताजा तरकारीहरु सहयोग गरिएको बताइन् ।

अहिलेको विषम परिस्थितिमा देश नै अप्ठेरोमा परेको अवस्थामा नागरिकहरुलाई सहयोग गर्न उनले सबैमा आह्वान समेत गरिन् । यस्तै संस्थाकी प्रवन्धक दिलमाया चौधरीले भारत लगायत अन्य तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको लागि आफ्नै सहकारीका सदस्यहरुले उत्पादन गरेका तरकारीहरु सहयोग गरिएको बताइन् । आफ्नो संस्थाको तर्फबाट सानो सहयोग गरिएको र सबैको सानो सहयोगले नै समस्यामा परेका नागरिकहरुलाई सहयोग पुग्ने उनलको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २५ गते आइतबार