कोहलपुर टाउन प्लानिङकै सडक निर्माण कमसल, स्थानीय पुगे अख्तियार



शुभाकर विश्वकर्मा ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ को बालज्योती विद्यालय क्षेत्रको सडक निर्माण कार्य थालेको वर्षौ बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन । टाउन प्लानिङ क्षेत्र अन्तरर्गत चौथौं चरणको सडक निर्माण कार्य भइरहेको उक्त क्षेत्रमा नाली मापदण्ड अनुसार बन्न नसकेपछि निर्माण कार्य सम्म हुन नसकेको हो । निर्माण पक्षको ढिलासुस्ती र मापदण्ड अनुसार सडक नभएपछि स्थानीयले विगत दुई वर्षदेखि विरोध गर्दै आइरहेका छन् । उक्त सडक क्षेत्रमा बनाइएको नाली मापदण्ड अनुसार बनाउनु पर्ने स्थानीयको माग छ । नगर विकास समिति कोहलपुर मार्फत निर्माण भइरहेको सडक दुई आर्थिक वर्ष सकिदा समेत सम्पन्न हुन सकेको छैन ।

पछिल्लो पटक सडक निर्माण कार्य गर्दा नाली मापदण्ड अनुसार नभएको भन्दै स्थानीयले विरोध गरेका थिए । त्यस यता कुनै पनि काम हुन सकेको छैन । लामो समयसम्म नगरपालिका र वडा कार्यालयलाई सडकका विषयमा छिटो समस्या समाधान गर्न माग गर्दा समेत सुनुवाई नभएको र सडक निर्माणको ठेक्का पाएको कम्पनीले लापरबाही गर्दा त्यहाँका स्थानीय फोहोर नालीको दुर्गन्धबाट आजित भएपछि अख्तियारलाई गुहारेका छन् । स्थानीय प्रेम बहादुर श्रेष्ठले यस अघि पटकपटक वडा नम्बर ११ र नगरपालिकामा समस्या समाधानको लागि निवेदन पेस गरेको भएपनि सुनुवाई नभएको बताए । उनका अनुसार सडक निर्माण कार्य स्थानीयहरु कै सहजताका लागि भएपनि सडकमा दुवै पट्टी बनाइएका नाली मापदण्ड अनुसार छैनन् ।

साँघुरो नाली भएका कारण अन्य क्षेत्रबाट आउने फोहोर पानीले दुर्गन्ध फैलिरहेको उनले जानकारी दिए । करिब पाँच सय मिटर दुरीमा बनाइएको नाली साँघुरो भएका कारण पानी पास हुन सक्ने अवस्था छैन । ‘यो सडक खास ८ मिटर बनाउनु पर्ने हो । तर सडक निर्माण गर्दा ठूलो संख्यामा घरहरु भत्काउनु पर्ने अवस्था भएका कारण केही साँघुरो बनाइएको छ । यो सडकका दुवै पट्टीका नाली भने एकदमै साँघुरो बनाइएको छ । पानी समेत बग्न सक्ने अवस्था छैन । हामीले खुकुलो नाली बनाइदिन माग गरेका छौ’ श्रेष्ठले भने । नाली दुवै पट्टी एक–एक मिटरको बन्नु पर्ने हो । यो सडक दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु भएको र सुरुवातमा कोहलपुरका स्थानीय समेत रहेका नारायण लम्सालले निर्माण कार्य सुरु गरेको उनले जानकारी दिए । उनले उक्त क्षेत्रमा सडकका नाली बनाउने काम गरेको र पछि वीच मै काम छोडेर गएको श्रेष्ठ बताउँछन् । स्थानीय श्रेष्ठ भन्छन्, ‘अर्का ठेकेदार यो बनाउनको लागि आए ।

उनको काम चाहीँ अघिल्लो ठेकेदारले बनाएको नालीमा दुई तह ईट्टा बढाएर सबै नाली माथि ढक्न लगाउने रहेछ र सोही अनुसार काम पनि गरे । पीच पनि उनले नै गर्ने रहेछन् । पछि रोलर ल्याएर सडकमा ग्राबिल गरि कालोपत्रे गर्ने क्रममा सबै नाली भत्कियो ।’ ती ठेकेदार नेपालगञ्जका हुन भन्थे, अरु नै मान्छे काम गर्थे उनी भने कहिल्यै नआएको उनको भनाई रहेको छ । उनले गत वर्षको पुस÷माघ महिना काम गरेको तर स्थानीयले यस्तो नराम्रो काम गर्नु हुँदैन भन्ने विरोध गरेको बताए । गाउँलेबाट विरोध भएपछि काम गर्ने मान्छे पनि आएनन्, ठेकेदार पनि कहिल्यै आएनन् । ‘त्यतिबेला त्यो साइडमा काममा खटिएका प्रतिनिधिले नगर विकास समितिले जे निर्देशन दिएको छ त्यही काम गछौँ भन्ने जवाफ दिएका थिए’ श्रेष्ठले भने । अर्की स्थानीय शोभाराज भण्डारी सडक निर्माणका विषयमा स्थानीयको विरोध नभइ नालीका विषयमा विरोध भएको बताइन् ।

उनका अनुसार पछिल्लो पुस÷माघमा महिनामा काम राम्रो नभएको भन्दै स्थानीयले विरोध गरेपछि अहिलेसम्म पनि काम सुरु हुन सकेको छैन । त्यो बेला त्यहाँका स्थानीय साघुरो नाली माथि हालिएका स्ल्याव उठाएर नालीमा भएको फोहोर सफा गरेका थिए । जुन काम अहिलेसम्म अलपत्र अवस्थामा छ । गर्मी बढेसँगै नालीका कारण समस्या भएको भन्दै पछिल्लो पटक करिब दुई साता अघि अख्तियारलाई गुहारेका हुन् । तर यता उक्त सडकमै घर भएका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले वडा कार्यालयमा नभइ अख्तियारमा मुद्धा परेको बताए । ‘मेरो घर नजिकैको नालीको विषय हो । वडामा मुद्धा परेको छैन । अख्तियारमा हो ।

त्यहाँ बाटो र नाली नगर विकास समितिले बनाई रहेको छ’ उनले भने । उक्त नालीका विषयमा भने स्थानीयहरुबाट उजुरी परेको अख्यितार स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वडा नम्बर ११ का उक्त सडक टोलका स्थानीयले नाली गुणस्तरहीन भएको र पटकपटक बिग्रेको भन्दै उजुरी दिएको बताए । उक्त नाली डिजाइन गर्दा नै कमजोरी भएको र वडामा समेत उजुरी परेको आफूले जानकारी पाएको उनले जानकारी दिए । ‘म आफै स्थलगत रुपमा बुझेर आएको छु । केही कैफियत देखिएका छन् । खास के भएको हो भन्ने बारेमा अख्तियारले कागजजात मागेको छ, आइसकेको छैन ।

उताबाट आयो भने थाहा हुन्छ’ मिसन टुडे दैनिकसँग प्रमुख गैरैले भने । उक्त नालीका विषयमा २ हप्ता अघि मात्रै उजुरी परेको हो । यता नगर विकास समिति कोहलपुरका अध्यक्ष लुट बहादुर रावतले पनि आफूहरु आउनु भन्दा अघि नै समितिले ठेक्का पट्टामार्फत सडक बनाउन थालेको बताउँछन् । ‘हामी आएपछि सबै यो हेर्ने फुर्र्सद भएन । इमान्दारी गर्लान भन्ने भयो । तर राम्रो काम नभएको भन्ने आएको छ । अहिले कोरोना संक्रमणको काममा व्यवस्त छौ । अब छिट्टै ठेकेदारलाई बोलाएर कहाँ कहाँ समस्या हो बनाउन लगाउँछौ । ’

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २० गते मंगलबार