राजस्व परामर्श समितिको भर्चूअल बैठक : आगामी बजेटबारे छलफल



कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिकामा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट विषयमा छलफल गरिएको छ । आइतबार कोरोना महामारीका कारण भौतिक दुरी कायम गर्नु पर्ने बाध्यताका बीच प्रविधिको प्रयोग गर्दै ‘जुम भिडियो’ मार्फत राजस्व परामर्श समितिको बैठक बसी बजेटका विषयमा छलफल भएको हो । बैठकमा कोरोना कहरका बीचमा यहाँको अर्थतन्त्र र जनजिविकामा प्रत्यक्ष असर परिहेको परिस्थितिमा के कस्ता कार्यक्रम तर्जुमा गर्ने, कस्तो खाले कार्यक्रम ल्याउँदा कोरोना कहरबाट हुने क्षति न्युनिकरण गर्न सकिन्छ र समग्रमा आगामी बजेट निर्धारणका विषयमा छलफल भएको थियो । कोहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जु कुमारी चौधरीका अनुसार कोरोना महामारीको विषम परिस्थितिका बीच जुम प्रविधि मार्फत गम्भीर रुपमा छलफल भएको छ । राजस्व परामर्श समितिकी संयोजक समेत रहेकी चौधरीले बैठकमा आगामी आर्थिक वर्षमा राजस्व क्षेत्रलाई माथि कसरी उकास्ने, कर निर्धारण बारेमा छलफल भएको जानकारी दिइन् । छलफलमा सहभागीहरुले करको दर भन्दा पनि दायरा बढाउन तर्फ ध्यान दिन आफूहरुलाई सुझाव दिएको उनले बताइन् । उक्त छलफलमा कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रेव भारतीले कोरोना भाइरस महामारीका कारण नगरपालिका भित्रका सम्पूर्ण गतिविधि पूर्ण रुपमा ढप्प भएका कारण चालू आर्थिक बर्षमा लक्ष्य अनुसार राजस्व उठ्न नसकेको बताएका थिए ।

आगामी आर्थिक वर्षमा यस वर्ष कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गरि आगामी वर्षमा समेत पर्न सक्ने प्रभाव र असरलाई ध्यानमा राखि बजेट ल्याउनु पर्ने धारण राखेको बताइएको छ । बैठकमा कोहलपुर क्षेत्र उद्योगीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले ब्यवसायीलाई ब्यवसाय कर, घर बहाल करमा सहुलियत दिनुपर्ने धारणा राखेका थिए । उनका अनुसार कोरोना महामारीको प्रभाव सबै भन्दा बढी उद्योग क्षेत्रमा परेको छ ।

स्थानीय सरकारले उद्योग क्षेत्र मैत्री बजेट ल्याउनुपर्ने उनले माग समेत गरेका छन् । कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सिंह सुनारले आइतबार भएको छलफलमा विषयमा वस्तु समेटेर छिट्टै अर्को बैठक बसेर बृहत छलफल गरिने जानकारी दिए । जुम प्रविधि मार्फत बसेको बैठकमा नगर कार्यपालिका सदस्य कल्पना अधिकारी, वडा न ३ का अध्यक्ष माधव रिजाल, कोहलपुर उद्योग ब्यापार संघका अध्यक्ष चक्र बहादुर अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार