बाँकेका कोरोनाको पुर्वतयारी फितलो, संक्रमित पुष्टी भएपछि आइसोलेसन खोजिदैं



नेपालगञ्ज ।

बाँकेको कोरोना भाइरस (कोभिड–१९) को पुर्व तयारी एकदमै कमजोर देखिएको छ । पुर्व तयारी कमजोर हुँदा सोमबार कोरोना संक्रमण पुष्टी भएका ४७ जना अबेर रातीसम्म पनि क्यारेन्टिनमा नै रहेका थिए । सोमबार साँझ सवा चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँके नरैनापुरका ४७ जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको थियो ।
४७ जनामध्ये १ जना महिला र ४६ जना पुरुषहरु रहेका छन् ।

केहीदिन अघि बाँकेका कोरोना संक्रमितलाई दाङको आइसोलेसनमा लगिदैं ।

भेरी अस्पतालमा रहेको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुको कोरोना पुष्टी भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । शनिबार नरैनापुरबाट संकलन गरिएका २६३ वटा स्वाबमध्ये १९२ वटा स्वाब परीक्षण गर्दा ४७ जना कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी भएका व्यक्तिलाई छिटो भन्दा छिटो उपचारका लागि कोरोना आइसोलेसन अस्पतालमा सुरक्षित साथ लैजानुपर्ने भएपनि बाँकेमा भने त्यस्तो हुन सकेको छैन । सोमबार एकैसाथ ४७ जनाको कोरोना पुष्टी भइसक्दा पनि उनीहरुलाई कहाँ राख्ने भन्ने बिषयमा अधिकारीहरुलाई तनाव दिएको थियो ।

पछि नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भेरी अस्पताल नेपालगञ्जको मातहतमा रहने गरी नरैनापुरकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी भएको बताए । ‘खजुराको क्यान्सर अस्पतालकै मोडलमा यो आइसोलेसन अस्पताल पनि सन्चालन हुनेछ’ उनले भने । सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व–दक्षिणमा रहेको यो स्वास्थ्य संस्था स्थापनाकाल २०५० सालदेखि सन्चालनमा आए पनि दरबन्दीमा रहेका डाक्टर कोही पनि बस्न गएका छैनन् ।

अहिले पनि लामो समयदेखि केन्द्र डाक्टरविहीन नै छ । यो समाचार तयार पार्दासम्म सोमबार अबेर रातीसम्म पनि नरैनापुरमा आइसोलेसन अस्पताल सञ्चालनको लागि बेड लगायतका सामानहरु खोजिदैं थियो । यहाँका नीजि अस्पतालहरुले आइसोलेसन अस्पतालको लागि बेड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनअघि नरैनापुरमा नै कोरोना संक्रमित भेटिएका ८ जनालाई बाँकेमा आइसोलेसन बेडको अभाव भएपछि दाङको आइसोलेसन अस्पतालामा लगिएको थियो । खजुराका रहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा अहिले नेपालगञ्ज २५ र बर्दिका १ गरी २६ जना कोरोना संक्रमितलाई राखेर उपचार भइरहेको छ ।

एउटै बसमा आएका थिए संक्रमित

सोमवार बाँके नरैनापुरमा देखिएका ४७ जना कोरोना भाइरस संक्रमित भारतको मुम्बइबाट आएका थिए । संक्रमित दोस्रो मृतक र सोमवार देखिएका ४७ जनामध्ये धेरै एउटै बसमा मुम्बइबाट आएको पाइएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । ‘उनीहरु सबै भारतबाटै आएका हुन् । मृतक र सोमबार भेटिएकामध्ये धेरैजना एउटै बसमा आएको देखिन्छ । तर सबै जना एउटै बसमा थिए थिएनन् त्यो भने एकिन भएको छैन्,’ उनले भने ।मृतक र सोमबार भेटिएका संक्रमितमध्ये धेरैजना एउटै क्वारेन्टिानमा थिए । वैसाख तीन गते आदर्श मावि लक्ष्मणपुर, जैसतान मावि भगवानपुर, दीपेन्द्र प्रावि भोजभगवानपुर, नेरा प्रावि हुलासपुरको क्वारेण्टाइनमा रहेका २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो ।

उनीहरुमध्ये एक सय ९२ जनाको रिपोर्ट सोमवार आउँदा ४७ जना संक्रमित भेटिएको खरालले बताए । मृतक २५ वर्षीय युवा दीपेन्द्र प्रावि भोज भगवानपुरमा थिए । अब ६३ जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित सबै भारतको एउटै सहर मुम्बईबाट आएको गाँउपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोईन खाँले जानकारी दिए । ‘सबै जना कोरोनाको हटस्पट भारतको मुम्बईबाट आएका हुन् । उनीहरुमध्ये धेरैजना मृतकसँगै आएको जानकारी छ,’उनले भने । नरैनापुराका एक जना युवाको क्वारेन्टिानमा मृत्यु भएपछि उनको पीसीआर गरिएको थियो । नेपालमा कोरोना संक्रमण भएर मृत्यु भएको दोस्रो संक्रमित हुन् उनी ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ६ गते मंगलबार