क्वारेन्टाइनबाट भागे भारतीय नागरिक



सुदीप अधिकारी । बर्दिया ।

बर्दियाको सदरमुकाम गुलरियास्थित एक क्वारेन्टाइनमा बस्दै आएका ८ भारतीय नागरिक बुधबार विहान क्वारेन्टाइनबाटै भागेका छन् । उनीहरु वैशाख ९ गतेदेखि गुलरिया नगरपालिका १० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए । बुधबार विहानै शौच गर्ने वहानामा उनीहरु भागेको जनाइएको छ । भागेका भारतीयहरु सदरमुकाम गुलरियासँगै सीमा जोडिएको भारतीय गाउँ चित्तलहवाका हुन् ।

उनीहरु भागेर आफ्नै घर गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । क्वारेन्टाइनमा रहदा उनीहरुको पीसीआर परिक्षण गरिएको थियो । आठैं जनाको रिर्पोट नेगेटिभ आएको थियो । भारतीय पक्षले अनुमती नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । जुम्लामा मजदुरी गरेर घर फर्र्कने क्रममा उनीहरुलाई सीमावर्ती क्वारेन्टाइनमा राखिएको थियो ।

लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएको भारतीय नागरिकको पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फर्कउने तयारी गर्दा गर्दै हतारिएर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताए । क्वारेन्टाइनबाट भागे लगत्तै साीमावर्ती गाउँ भारतीय पक्षका जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गरि उनीहरुको बारेमा जानकारी गराइएको र अहिले उनीहरु भारतीय जनप्रतिनिधि र सुरक्षा निकाय एसएसबीको सम्पर्कमा रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १ गते बिहीबार