नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ संक्रमित सबैभन्दा बढी प्रदेश पाँचमा



कोहलपुर ।

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ जना पुगेको छ । सोमबार साँझ स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्र नेपालमा २४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । एकैदिन प्रदेश ५ कपिलबस्तुका १६, रुपन्देहीका ६, बर्दियाका १ र प्रदेश २ का सप्तरीका १ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै नेपालमा संक्रमितहरुको संख्या १ सय ३४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ जना कोरोना संक्रमित भेटिएको नेपालगञ्जको जोलहनपुर्वा टोल

एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टी भएको नेपालमा पहिलोपटक हो । १ सय ३४ संक्रमितहरु मध्ये सोमबार साँझसम्म ३३ जना निको भएर घर फर्किएका छन् । पछिल्लोपटक कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापाका ४८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका थिए । उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । सबैभन्दा बढी संक्रमितहरु फेला पर्ने प्रदेशमा ५ नम्बर प्रदेश रहेको छ । यो प्रदेशका बर्दिया, बाँके, कपिलबस्तु र रुपन्देही जिल्लामा कोरोना संक्रमितहरु भेटिएका हुन् । सोमबार मात्रै बर्दियाको राजापुर नगरपालिकाकी ११ वर्षिय बालिकामा कोरोना संक्रमण पुष्टी भएपछि बर्दियाले समेत खाता खोलेको छ । सोमबारसम्म क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ६६ जना रहेका छन् ।

बर्दियामा किट अभाव

बर्दिया । बर्दियामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।

स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी चौधरीले आरडीटी विधिबाट परीक्षण गरिएका २ हजार ८ सय ६६ र पीसीआर विधिबाट परीक्षण गरिएका ४ सय १७ गरी कुल ३ हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख ३० गते मंगलबार