कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । यसबाट नेपाल समेत अछुतो हुन सकेको छैन । गत चैत्र ११ गतेदेखि सरकारको कोरोना संक्रमण फैलिन नदिन भन्दै लकडाउन घोषणा गरेको छ । अहिले राज्यका सबै तहहरु कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागिपरेको अवस्था छ । अहिलेसम्म कोरोना रोकथामका लागि कस्ता कामहरु भएका छन् र आगामी योजनाहरु कस्ता छन् भनेर मिसन टुडेका बर्दिया संवाददाता मधुर पौडेलले बाँसगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र गिरीसँग कुराकानी गरेका छन् ।
१. कोरोना संक्रमण फैलिन नदिनको लागि तपाईहरुले कसरी काम गरिरहनुभएको छ ?
- कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिनको लागि सबैभन्दा पहिले बाँसगढी नगरपालिका वडा नम्बर ५ मा उच्च सर्तकता अपनाएका
छौं । सुरक्षाकर्मी, राजनितिक दल, नागरीक समाजलाई साथै लिएर गाउँ गाउँमा सचेतना बाँडिरहेका छौं । साबुन पानीले हात धुने, एउटा घरबाट अर्को घरमा नजाने, एउटा गाउँबाट अर्को गाउँमा नजाने लगायतका जनचेतना मुलक घरदैलो कार्यक्रम अहिले समेत जारी छ । समग्रमा भन्नुभन्दा हामीले वडामा कोरोना संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउनका साथै अन्य गतिविधिहरुलाई तिव्र पारेका छौं ।
२. लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत बाँड्ने काम तपाईको वडामा कहाँसम्म पुग्यो ?
- पहिलो चरणको राहत हामीले ५७ जनालाई बाँडिसकेका छौं । अब दोस्रो चरणको राहत बाँड्ने तयारीमा भइरहेको छ । त्यसको लागि वडामा सर्वदलिय सर्वपक्षिय बैठक बसेर राहत दिनेहरुको नाम छनौट गरिसकेका छौं । अबको एक दुई दिनमा उनीहरुलाई राहत वितरण गर्नेछौं ।
३. विदेश तथा बर्दियाभन्दा बाहिरका जिल्लाबाट तपाईको वडामा कतीजना आएका छन् । उनीहरुलाई कसरी व्यवस्थापन गर्ने काम कसरी भएको छ ?
- हाम्रो वडामा विदेशबाट आएका कोही पनि छैनन् । बाहिरी जिल्लाबाट आएका मानिसहरुलाई हामीले भेटेर नै होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेका छौं । उनीहरुलाई कम्तीमा पनि १४ दिनदेखि २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका थियौं । अहिले हामीले भनेअनुसार नै होम क्वारेन्टाइनमा बसेको अवस्था छ । हामीले पनि बेला बेला उनीहरुले नियम मानेका छन् की छैनन् भनेर अनुगमन गर्ने काम समेत गरिरहेका छौं ।
४. लकडाउनले गर्दा तपाईको वडाका कृषकहरुलाई कत्तिको समस्या पारेको छ नी ?
- लकडाउनको कारणले किसानहरुलाई समेत समस्या परेको छ । जस्तै तरकारीहरु उत्पादन गरेका दुध उत्पादनको कुरा नै भयो । तरकारीको बिषयमा हामिले किसानहरुलाई बजारका किसानहरुलाई थोकमा दिन आग्रह गरेका छौं । दुध पनि पसल पसलमा दिनको लागि वडा कार्यालयले एउटा खालको सिफारिस गरिदिएको अवस्था छ ।
५. लकडाउनले गर्दा विकास निर्माणका काम अगाडि बढ्न सकिरहेका छन् की छैनन् ?
- उत्तरः लकडाउनका कारणले हाम्रो वडामा विकास निर्माणका कामहरु खासै अगाडि बढ्न सकेका छैनन् । पछिल्लो समय केही कामहरु सुरु हुन गइरहेका थिए । तर मौसमले पनि साथ नदिएका कारण वडा नम्बर ५ मा विकास निर्माणका कामहरु अगाडि बढ्न सकेका छैनन् ।
६. अन्त्यमा के भन्न चाहान्नुहुन्छ ?
- अब कोभिड–१९ फैलिएको बेला हामि सबै भन्दा पहिला आफु बचौं र अरुलाई बचाउँ । हामि बचेपछि समग्र यो समाज बचेपछि मात्र भोलिका दिनमा हामि नयाँ काम गर्न सक्छौं । त्यसो भएको हुनाले सम्पुर्ण वडा बडा तथा नगरबासीलाई अहिले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न अनुरोध गर्न चाहान्छु ।