नेपालगञ्जमै कोरोना भाइरस परीक्षणको तयारी



नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा कोरोना भाइरस (कोभिड–१९) गर्ने पोर्टेबल पिसिआर मेसिन राख्ने तयारी थालिएको छ । संघिय सरकारले दिएको एउटा पिसिआर मेसिन बुटवलमा राखिएपछि नेपालगञ्जमा अर्को मेसिन ल्याएर राख्ने तयारी थालिएको हो ।

साविक मध्यपश्चिम तथा सुदुरपश्चिमको प्रमुख शहर नेपालगञ्जमा कोरोना परीक्षण गर्नको लागि प्रदेश ५ सरकारले पिसिआर मेसिन राख्नको तयारी थालेको बताइएको छ ।

सोही क्रममा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन राख्नको लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको प्रयोगशालाको स्थलगत निरीक्षण समेत गरिएको थियो । शनिबार प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतका अधिकारीहरुले कोरोना परीक्षण गर्ने पोर्टेबल आरटी पिसीआर मेसिन राख्ने ठाउँको निरीक्षण गरेका थिए ।

त्यसको पुर्वतयारीका लागि नेपालगञ्ज आएका मन्त्री बरालले भेरी अस्पताल र बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालमा रहेका आइसुलेसन वार्डको अनुगमन समेत गरे । मन्त्री बरालले पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्नुका साथै अस्पताल र मेसिनका बारेमा जानकारी लिएको अस्पतालका प्रमुख डाक्टर प्रकास थापाले जानकारी दिए ।

‘अस्पतालमा उपकरण जडानका लागि द्रुत गतीमा काम भइरहेको छ’ उनले भने, ‘अहिले भइरहेको कुनै काममा अवरोध नभए अबको एक हप्ता भित्रमा पिसिआर मेसिनबाट कोरोना परीक्षण हुनेछ ।’

नेपालगञ्जमा पिसिआर मेसिन राखिए बाँके, बर्दिया लगायत यस क्षेत्रका विभिन्न जिल्लाबाट आउने कोरोना भाइरस संक्रमणका विरामीको उपचार तथा स्वास्थ्य जाँचमा सहजता हुने डा. थापाले बताए ।

कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य उपकरण पिसीआर मेसिन खरीद र स्वास्थ्य सामाग्री लगायतका बस्तुहरु आपूर्ती गर्नका लागि कोटेशन माग गरिएको उनले जानकारी दिए । प्रदेश सरकारको लगानीमा भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरीद तथा जडान गरिन लागेको हो ।

अहिले यहाँ रहेका कोरोना संक्रमणका शंकास्पद बिरामीहरुको नमुना संकलन गरेर परीक्षणको लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाउने गरिन्छ । भेरी अस्पतालमा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफैं खर्च बेहोर्ने निर्णय गरिसकेको छ ।

मन्त्री बरालले शनिबारनै खजुरामा रहेको क्यान्सर अस्पतालको पनि अनुगमन गरेका छन् । प्रदेश सरकारले खजुरा क्यान्सर अस्पताललाई पूर्ण आइसोलेसन अस्पतालमा परिणत गर्ने निर्णय गरेको थियो ।

मन्त्री बरालसँगै प्रदेश सांसद कृष्ण केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, भेरी अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ लगायत भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालको तयारी र ब्यवस्थापनको अनुगमन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार