बाँकेमा एकैदिन खोसियो ४४१ सवारीको चाबी



नेपालगञ्ज ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले अहिले लकडाउनको घोषणा गरेको छ ।

बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।

लकडाउनको १२ औं दिन शनिबार साँझ मात्र बाँके प्रहरीले लकडाउन उल्लंघन गर्ने ४४१ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले प्रहरी अब लकडाउनलाई प्रभावकारी बनाउन लागि पर्ने बताए ।

‘लकडाउन प्रभावकारी बनाउन प्रहरीले अब कुनै कसुर बाँकी राख्दैन’ उनले भने, ‘सोही क्रममा शनिबार मात्र लकडाउनको प्रवाह नगरी चलाउने ४४१ वटा मोटरसाइकलका चाबी नियन्त्रणमा लिएका छौं ।’

अत्यावश्यक कामका लागि हिडेका मोटरसाइकललाई छाड्दा त्यसको देखासिकी अरुले मनपरी गरिरहेको उनले बताए । शनिबार जिल्लाका विभिन्न स्थानहरुमा लकडाउन प्रभावकारी बनाउनको लागि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २३ गते आइतबार