21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघले बिश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा गम्भिर धक्का पुग्ने अवस्था सिर्जनाले सरकारलाई व्यवसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अत्यन्त जोमिखपूर्ण राष्ट्रको सूचिमा राखेकाले आर्थिक क्षेत्रमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै व्यसायिक संक्रमणकाल घोषणा गर्न माग गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिम मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना भाइरसले बिश्व अर्थतन्त्रमा पारेको प्रभावले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जमा समेत परेको उल्लेख गरिएको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० समेत स्थगन गरिसकेको अवस्थामा पूर्वसावधानीका कारण आयात निर्यात कार्य लगभग ठप्प जस्तो हुँदै गएको विज्ञप्तिमा बताइएको छ ।

राज्यभित्र सञ्चालनमा रहेको उद्योग व्यवसाय समेत धरासायी बन्न सक्ने भयावह अवस्था हाम्रो सामु देखिदै आएकोले राज्यले अंगिकार गरेको नीति, नियमलाई आत्मसात गरी व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुले उद्योग कलकारखाना तथा व्यवसाय सन्चालनार्थ लिएको ऋणको ब्याज तिर्न हालको र अवको परिस्थिती अनुकुल भएको बताइएको हो ।

‘एकातर्फ आवतजावत, सभा सम्मेलन एवं सामुहिक क्रियाकलापहरु नगर्न सरकारका तर्फबाट अनुरोध भएको अवस्था छ’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘कच्चा पदार्थ आयातमा कठिनाई तथा वित्तीय संस्थाबाट लिएको ऋण ब्याज समयमै तिर्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण व्यवसायी निरास भएका छन् ।

जसले गर्दा चैतसम्म बुझाउनुपर्ने दोस्रो किस्ता वापतको आयकर तिर्नसम्म नसक्ने अवस्था सिर्जना हुँदै छ ।’ पत्र मार्फत उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र सर्वसाधारणको दैनिक जीवनमा समेत प्रतिकुल असर पार्ने कोरोना भाइरस प्रभावित समयसम्मका लागि व्यवसायिक संक्रमणकालको घोषणा गरी सहुलियत प्रदान गर्न सरकारको गम्भीर ध्यानार्कषण गराइएको छ ।

यस्तै नेपालगञ्जसँग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यमा समेत कोरोनाको संक्रमण बढ्दै गएको परिस्थितीमा सचेत र सजग बन्दै खुल्ला सीमाना हुँदै नेपाल भित्रिने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनका लागि आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्ने सरकारी अभियानमा संघको हाम्रो पूर्ण साथ र समर्थन रहेको रहेको भन्दै दैनिक उपभोग्य सामाग्रीहरु सर्वशुलभ रुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई हार्दिक अपील गरिएको हो ।

प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६     5:54:57 AM  |