29 April 2024  |   सोमवार, बैशाख १७, २०८१

दादुरा रुवेला खोप अभियान तिव्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा दादुरा रुवेला रोग निवारण गर्नका लागि खोप अभियान तिव्र पारिएको छ । बाँकेमा ९५ प्रतिशत भन्दा कम गर्नेका लागि यो अभियान तीव्र पारिएको हो । पहिलो चरणमा प्रदेश नम्बर १, २, ५ मा फागुन १ गतेदेखि सञ्चालन भै सकेको छ । दोस्रो चरणमा बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा चैत १ गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सन् २०२३ सालसम्म नेपालमा दादुरा रुवेला रोग उन्मुलन गर्ने लक्ष्यका साथ अभियान तिव्र पारिएको बताए ।

‘बाँकेमा ९ महिना देखि पाँच वर्षसम्मका बालबालिकाहरु दादुरा रुवेला खोप लगाउने संख्या चार हजार छ सय जना रहेको छ ।’ उनले भने, ‘यी सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं ।’

आइतवार कोहलपुरमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षण कार्यक्रममा शाहले अभियानको क्रममा सक्रिय रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका थिए । क्षेत्रीय मेडिकल स्टोर बाँकेका कोल्ड चेन निरिक्षक जनक राज गिरीले दादुरा रुवेला खोपको तापक्रम अधिकतम र न्यूनतममा निकै सुरक्षित राख्नुपर्नेमा जोड दिए । ‘विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा कम र बढि भएमा खोपको औषधि काम नलाग्ने हुन्छ’ उनले भने ‘यसको २० देखि ८० तापक्रमको बीचमा राख्नुपर्ने हुन्छ ।

नत्र यसको प्रयोग ल्याउन सकिदैन ।’ स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत देवेन्द्र गुरुङ्गले बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण भएको बताए । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले स्वास्थ्यकर्मीहरुलाई कोहलपुरका कुनैपनि बालबालिकाहरु नछुटाई खोप लगाउनुपर्नेमा जोड दिएका थिए । कोहलपुर नगर स्वास्थ्य शाखाका निमित्त प्रमुख अनिल सिंह ठकुरीले कोहलपुरको वडा नम्बर १ देखि ६ सम्मका २४ वटा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई खोप लगाउने कार्य तीव्र पारिएको जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६     12:37:01 PM  |