सनलाइटले मनायो वार्षिकोउत्सव (फोटो फिचर)



रावन बिश्वकर्मा, बाँसगढी ।

बर्दिया सनलाइट एकेडेमी बढैयातालले ११ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । बर्दियाको बढैयाताल, ४ खैरेनीमा रहेको विद्यालयले मंगलबार भव्य कार्यक्रमका बीच आफ्ना ११ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवको अवसरमा विद्यालयले शैक्षिक सत्र २०७५ सालमा नर्सरी देखि कक्षा सात सम्म प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरेको थियो ।

त्यस्तै यस वर्ष आयोजना गरेका विभिन्न खेलकुद विधाहरुमा बिजेता विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा सहभागी वक्ताहरुले बर्दिया सनलाइट एकेडेमीले शैक्षिक विकासलाई गुणात्मक परिवर्तन गर्ने कुरामा जोड दिएका थिए । बोेल्ने वक्ताहरुले विद्यालयले शिक्षालाई सिकाई, ज्ञान र व्यवहारसँग जोड्न सक्षम रहने विश्वास व्यक्त गरेका थिए ।

बढैयाताल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर थापाले विद्यालय र अभिभावकको समधुर सम्बन्धले नै शैक्षिक गुणस्तर अभिबृद्धिमा सहयोग पुग्ने बताए । विद्यालयका संस्थापक प्रिन्सिपल हेमराज विसीले विद्यालयलाई गाउँपालिकाकै नमुना विद्यालय बनाउने प्रयास जारी रहेको जानकारी दिए ।

शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालय अग्रसर रहेको र अभिभावकहरुको साथ पनि अपरिहार्य भएको उनले बताए । विद्यालयले शैक्षिक गुणस्तरका लागि रचनात्मक भूमिका निर्वाह गर्दै तीन–तीन महिनामा विद्यार्थीहरुको शैक्षिक मुल्यांकन गर्ने, स्मार्ट कक्षा सञ्चालन गर्ने विद्यालयको योजना रहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ७ गते बुधबार