कोहलपुर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र समाजवादको यात्रा तय गर्नको लागि पार्टी एकता गरिएको बताएका छन् । पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको भन्दै उनले समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको दावी गरे । आइतबार बाँकेको कोहलपुरमा पार्टी एकिकरणपछि पहिलो पटक राखिएको प्रदेश ५ स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘पद प्रतिष्ठा पाउनको लागि हामीले पार्टी एकता गरेका होइनौं’ उनले भने, ‘समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता भएको हो ।’ साढे एक घण्टा लामो भाषण गरेका पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अधिकांश समय पार्टी एकताको बिषयमा खर्र्चिएका
थिए । उनले तत्कालिन नेकपा एमाले र माओवादी बिच कसरी एकता सम्भव भयो भन्नेबारे बताए । छलफलको लामो समयपछि मात्र दुई पार्टी बिचको एकता सम्भव भएको उनले बताएका थिए । ‘राजनीतिक एकता भए पनि सांगठनिक र भावनात्मक एकता केही बाँकी रहेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता टुंगियो, केही बाँकी रहलपहल होला, महासचिवसँग बसेर टुंगिन्छ’ ।
उनले अघि थपे ‘कोही कोहीलाई झमेला लाग्न सक्छ, रिस उठ्ने, छोडेर हिँडौं भन्ने पनि हुन सक्छ । तर, हामीले के सोच्नुप¥यो भने सामाजिक भावनात्मक वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्छ ।’ पार्टी एकता प्रधानमन्त्री बन्नको लागि नभएको उनले दावी गरे । ‘प्रधानमन्त्री हुनको लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होईन, यसमा कोही भ्रममा नपर्नुहोला’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै कुराको विचार गरेर पार्टी एकता भएको हो, नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै नेपाली कम्यूनिष्ट आन्दोलनको भविष्य सुदृढ गर्न र समृद्धि र समाजवादको मार्ग तय गर्नको लागि एकता गरेका हौं ।’
एकताको भावनाको लागि भनेर त्यतिबेला आलोपालो प्रधानमन्त्री चलाउने भन्ने कुरा गरेको उनले बताए ।‘अहिले आउँदा आलोपालोले पनि जनतामा भ्रम हुने देखिएपछि आलोपालो पनि छोड्यौं’ उनले भने, ‘पाँचवर्ष यहि सरकार जाओस् पार्टी र सरकार दुई वटैलाई प्रभावकारी बनाउने उपाय सोचेका छौँ ।’पार्टी एकता गर्ने कुरा सजिलो नभएको बताउँदै अध्यक्ष प्रचण्डले तीन महिनामा एकता टुङ्गयाउने भनिएपनि काम सक्न भने दुई वर्ष लागेको बताए । ‘ठूला दुई पार्टी मिलेकोले विभिन्न मतभेद हुनु स्वभाविक हो’ उनले भने, ‘तर पनि धैर्यताका साथ एकताको कामलाई पार लगाउँदै स्थानीय तहसम्म नै पार्टी एकता गरी जनतामा सकारात्मक सन्देश दिन सफल भएका छौं ।’
२०६३ सालमै फुलवारी बैठकमा माओवादीले देशमा धेरै कम्युनिष्ट धार हुनुहुँदैन भन्दै एक कम्युनिष्ट पार्टी बनाउन पार्टी एकीकरणको निर्णय गरेको उनले स्मरण गरे । ‘एमालेसँग एकीकरणबारे धेरैलाई सिलगुडी र रोल्पाको छलफलबारे मात्रै थाहा होला’ अध्यक्ष प्रचण्डले भने, ‘यस्ता बैठक दर्जनौं पटक भएर पार्टी एकता सम्भव भएको हो । त्यसैले यो एकता धेरै मजबुत छ । यो एकतालाई देश र जनताबीच भावनात्मक रुपमा बलियो बनाउनुपर्छ ।’ पहिलो संविधानसभादेखि नै पार्टी एकता प्रक्रियामा कुन दल ठूलो र कस्को हिस्सा ठूलो भन्ने भागवण्डा नमिल्दा सम्भव नभएको उनले बताए । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे उनले कार्यदलले दिएको प्रतिवेदनका आधारमा पार्टीले आधिकारिक धारणा बनाउने बताएका थिए ।
‘एमसीसीबारे अध्ययन गर्न केन्द्रीय समितिको बैठकबाट एउटा कार्यदल गठन गरेका छौं’ अध्यक्ष प्रचण्डले भने, ‘उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’ देश हित विपरित काम नेकपा पार्टीबाट नहुने भन्दै उपस्थित नेता कार्यकर्तालाई आश्वस्त पार्न उनले प्रयास गरे । यसैबिच एकता सन्देश स्थानीय तहसम्म लैजाने उद्देश्यले पार्टीले आगामी चैत एक गते देखि सुरु गर्न लागेको प्रदेश स्तरीय अभियानका यो प्रदेशबाट शुरू भएपनि अन्य प्रदेशले आफ्नो अनुकुलतामा अभियानको पुर्वतयारी
थाल्नेछन् । बिषेश अभियानको अवधिभर बैठक, प्रशिक्षण र सभा गर्ने नेकपाको तयारी रहेको छ । गएको माघ १५ गतेदेखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रचण्डले संयुक्त रूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव समावेश थियो ।
उक्त प्रतिवेदनका आधारमा नेकपाले अभियान सञ्चालन गर्न लागेको हो । चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरूप संगठित सदस्यता नवीकरण गरिने भएको छ । चैतको एक गतेदेखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुनेछ । अभियानपछि आगामी वर्षको भदौदेखि मंसीरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गरी चैतमा पार्टीको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्