अनोज थारु, बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकामा बालविवाह न्युनिकरण सम्बन्धी रणनितिक योजना विषयक २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकामा सञ्चालन गरिने बालविवाह सम्बन्धि क्रियाकलाप गर्ने निर्णय सहित गोष्ठी सम्पन्न भएको हो । बालविवाह सामाजिक अपराध भएकोले यसलाई न्युनिकरण गर्न बिभिन्न संघ संस्था लगायत गाउँपालिका समेत लागि परेका छन् । आउँदो वर्ष सम्पुर्ण वडा हुँदै गाउँपालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ ।
कार्यशाला गोष्ठीको समापनमा बोल्दै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले गाउँपालिका भित्र बालविवाह न्युनिकरण संम्बन्धि पालिका स्तरीय बाल क्लवहरु गठन गरिएको बताइन् । बढैयातालका वडा नम्बर २, ३ र ६ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ । अब छिट्टै बाँकी वडालाई समेत घोषणाको तयारी थालिएको उनले बताइन् । २ दिने कार्यशालामा कार्यक्रमको सहजिकरण भिम अवस्थी र युनेस्को क्लव बाँकेको फिल्ड सुपारभाइजर लक्ष्मी चौधरीले गरेकी थिइन् ।
छलफलमा बालविवाहको तथ्यांक संकलन गर्ने, बालविवाह बढी हुने ठाउँ वा समुदायको पहिचान गर्ने, ठाँउ–ठाँउमा सडक नाटक गर्ने विषयमा गर्ने निर्णय भएको थियो । यस्तै सामाजिक सन्देशमुलक जिंगल उत्पादन गरी रेडियोबाट प्रचार–प्रसार गर्ने, चोक चोकमा होडिंग बोर्डहरु राख्ने निर्णय समेत भएको छ । योजना अनुसार काम गर्नको लागि लाग्ने आर्थिक खर्च संघ, प्रदेश र स्थानीय सरकार लगायत बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।









प्रतिक्रिया दिनुहोस्