जेष्ठ नागरिकलाई ज्याकेट



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको छ । नगर क्षेत्रका विपन्न २० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको हो । शनिबार एक कार्यक्रममा बीच प्रवुद्ध जेष्ठ नागरिक मञ्चमा कोहलपुर जेसिसको सहजीकरणमा प्रति व्यक्ति ज्याकेट वितरण गरिएको थियो । जेष्ठ नागरिकलाई कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले ज्याकेट प्रदान गरेका थिए । उनले जेष्ठ नागरिकका समाजका मार्गदर्शक भएको बताए ।

‘जेष्ठ नागरिकको सेवा र सहयोगको लागि सबै तयार हुनुपर्छ’ उनले भने, ‘आमा÷बुवालाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म हुने हो ।’ जेष्ठ नागरिकको हक हितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको भन्दै नगर प्रमुख रावतले आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका ११ का अध्यक्ष कर्ण बहादुर थापाले सेवा नै धर्म भएको बताए । ‘सबै सँग असल व्यवहार गर्ने, मिठो बोल्नु र जेष्ठ नागरिकको उचित हेरचाह गर्नु असल नागरिकको कर्तव्य हुन्छ’ उनले भने, ‘जेष्ठ नागरिकहरुलाई स्वास्थ रहन योग गर्न आनीबानी सुधार्न आग्रह गर्दछु ।’ यस्तै नेपाल रेडक्रस सोसाईटी कोहलपुर उप शाखाका अध्यक्ष नारायण गौडेलले कोहलपुर जेसिसले लामो समयदेखी कोहलपुरको स्वयकसेवकको रुपमा काम गरिरहेको बताएका थिए । आगामी दिनमा समेत सामाजिक क्षेत्रमा सक्रिय हुन उनले आग्रह समेत गरे ।

कोहलपुर जेसिस वर्ष २०२० का अध्यक्ष संगम खनालले कोहलपुर जेसिसले लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएको जानकारी
दिए । विभिन्न सहयोगी संघ सस्था र व्यक्तिहरुको सहयोगबाट प्राप्त सहयोगमा सहजीकरण गर्दै आईरहेको उनले बताए । सामाजिक क्षेत्रमा काम गर्ने जेसिसको कार्यक्रम अनुसार नै जेष्ठ नागरिकहरुलाई सहयोग गरिएको उनले बताएका थिए ।

अध्यक्ष खनालले जेष्ठ नागरिकलाई वितरण गर्ने ज्याकेट दिलिप अधिकारीको सहयोग र जेसिसको सहजिकरणमा वितरण गरिएको जानकारी दिए । अधिकारीले आफ्नी आमाको सम्झनामा सहयोग गरेका हुन् । सहयोग प्राप्त गरेपछि जेष्ठ नागरिकले भने खुसी व्यक्त गरेका छन् । जेष्ठ नागरिक चुने थारुले कोहलपुर जेसिसको आयोजनामा गरिएको सहयोग प्रति आभार प्रकट गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १२ गते आइतबार