बारबर्दियामा दोस्रो मेयर कप आजदेखि



रावन बिश्वकर्मा, बाँसगढी ।

बर्दियाको बारबर्दियामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो मेयर कप प्रतियोगिता सुरु हुँदैछ । आजदेखी सञ्चालन हुने प्रतियोगिताको पुर्व पशुपंक्षी विकास मन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले उद्घाटन गर्नेछन् । बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गा बहादुर विश्वकर्माका अनुसार नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन गइरहेको हो । पाञ्जजन्य माध्यमिक विद्यालय पद्नाहको व्यवस्थापन रहने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको उनले जानकारी दिए ।

यता बारबर्दिया नगरपालिकाका नगरप्रमुख तथा प्रतियोगिता सञ्चालन समितिका संयोजक दुर्गा बहादुर थारुले प्रतियोगिताले खेलकूद क्षेत्रको विकाससँगै विद्यार्थीहरुको पढाई र खेलप्रति उत्साह बढ्ने अपेक्षा गरिएको बताए । प्रतियोगितालाई व्यवस्थित तथा मर्यादित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी कामको बाँडफाँट गरिएको छ । विद्यालयका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष मान बहादुर थारुका अनुसार प्रतियोगितामा सहभागिताका लागि टाढाबाट आएका खेलाडीहरुलाई आवासको व्यवस्था समेत गरिएको छ ।

प्रतियोगितामा बारबर्दिया नगरपालिकामा रहेका १४ वटा सामुदायिक र ३ वटा संस्थागत माध्यामिक विद्यालय गरी १७ वटा विद्यालय सहभागी हुने आयोजकले जनाएको छ । विद्यालयकका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागिताका लागि १८ बर्ष र मेयर कप प्रतियोगितामा सहभागिताका लागि १६ बर्ष कम उमेर हुनुपर्ने छ । प्रतियोगिता माघ १६ गते सम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १० गते शुक्रबार