कोहलपुर/ होटल ब्यवसायी संघ बाँकेले आगामी माघ २३ गतेदेखि कोहलपुरमा ‘फुडफेस्टिभल’ संचालन गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फुडफेस्टिभल सञ्चालनका बारेमा जानकारी गराएको हो ।
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आगामी माघ २३ गतेदेखि फागुन ३ गतेसम्म ‘प्रथम कोहलपुर कृषि फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७६’ संचालन गरिने होटल ब्यवसायी संघ बाँके,कोहलपुरका अध्यक्ष एकनारायण चापागाईले जानकारी दिए ।
यस्तै संघका महासचिव खेमराज शर्माले पर्यटन वर्षलाई लक्षित गरि महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिँदै यस क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुका लागि २० प्रतिशत छुट दिइने बताए ।
महोत्सवमा होटल व्यवसाय र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने भएको छ । होटल, कषि लगायत अन्य सबै गरी दुई सय बढी स्टलहरु रहने आयोजकले जनाएको छ । त्यसमा थारु गाउँ पनि रहनेछ ।
महोत्सवमा बाँकेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी तिनीहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । साथै बाँकेका पर्यटकीय स्थलहरुको फोटो महोत्सव परिसरमा प्रदर्शनीका लागि राखिने पनि बताइएको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै देशभर नै होटल व्यवसायी संघले फुडफेस्टिभल सञ्चालन गरेको जानकारी दिँदै कोहलपुरमा सञ्चालन हुने महोत्सव सफल बनाउन सहयोग गर्न सबैमा आह्वान समेत गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्