27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

जनता माविमा कक्षा एघार सञ्चालन गरिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा रहेको जनता माध्यामिक बेलवाले कक्षा ११ सञ्चालन गर्ने भएको छ । विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका लागि आवश्यक विद्यार्थी र शिक्षक संख्या भएकाले विद्यालयको प्रस्ताव अनुसार बिहीबार भएको अभिभावक भेलाबाट कक्षा ११ सञ्चालन गर्ने निर्णय भएको हो । विद्यालयको पठन पाठनमा सुधार सँगै शैक्षिक गुणस्तर अभिबृद्धि गरी आउँदो शैक्षिक सत्र देखि कक्षा ११ सञ्चालन गर्ने निष्कर्षमा पुगेको विद्यालयका प्रधानाध्यापक ढाकाराम ढकालले बताए ।

‘अभिभावक भेलाबाट कक्षा ११ सञ्चालनका लागि निर्णय भए सँगै कक्षा सञ्चालनका लागि बाटो खुलेको छ’ उनले भने, ‘अब आवश्यक प्रक्रिया अगाडी बढाउने र आउँदो शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्नेछौं ।’ साविक बेलवा गाविस र हाल बाँसगढी नगरपालिकाको २ र ३ वडामा रहेका विद्यालयमा कक्षा ११ र १२ पढाई नहुँदा बाँसगढी गएर पढ्नुु पर्ने बाध्यता रहेको थियो । बेलवा क्षेत्र मै कक्षा ११ र १२ सञ्चालन हुने भए पछि अभिभावकहरु पनि खुसी भएका छन् । आफ्नै वरिपरी कक्षा सञ्चालन भएपछि सन्तानलाई अध्ययनकै लागि बाँसगढी, कोहलपुर पठाउनु पर्ने बाध्यता हट्ने भए पछि खुसी महशुस गरिएको अभिभावकहरुको भनाई छ ।

भेलामा सहभागीहरुले विद्यालयको सुधारका लागि अभिभावकको चासो र चिन्तन आवश्यक रहेकोमा समेत जोड दिएका थिए । राजनितिक खिचातानीले गर्दा जनता मावि बेलवाको विकास हुन नसकेकोमा जोड दिदै सहभागीहरुले राजनितिलाई टाढा राखेर पठन पाठनमा सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताएका हुन् । वडा नम्बर २ का अध्यक्ष घमण्ड चन्दले विद्यालयमा कक्षा ११ सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले विद्यालयको सुधार र शैक्षिक उपलब्धि हासिल गर्न अभिभावक, शिक्षक र विद्यार्थी बीच समन्वयको खाँचो रहेको औल्याए । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष प्रेमराज पौडेलले विद्यालयको विकास र शैक्षिक सुधारको लागि अभिभावकहरुको सक्रिय सहभागिता हुनु पर्नेमा जोड दिए ।

सन्तानको भविष्य निर्माण गर्ने थलो विद्यालय भएकाले विद्यालय र आफ्ना सन्तान प्रति अभिभावकले चिन्तन मनन् गर्न आवश्यक रहेको नगर शिक्षा समिति बाँसगढीका सदस्य भिम बहादुर खत्रीले बताएका थिए । समाजसेवी दिपकराज शर्माले विद्यालयको बिगतको ईतिहासको समिक्षा गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोको रुपमा बिकास गर्न सबैको साथ र सहयोगको खाँचो औल्याए । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र थारुले युगलाई सुहाउदोँ शिक्षाको आवश्यकता रहेको बताए । जनता माध्यमिक विद्यालयमा हाल ४ सय ७४ विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यस्तै १६ जना शिक्षक, लेखापाल, कार्यालय सहयोगी, चौकीदार गरी १९ जना शिक्षक कर्मचारी छन् ।

प्रकाशित मितिः शुक्रबार, पुस ४, २०७६     10:52:35 AM  |