नरैनापुरमा लैगिङ्क हिंसा विरुद्धको अभियान



कोहलपुर ।

बाँकेको नरैनापुर गाउँपालिकामा लैगिङ्क हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत् सोमबार मटेहियामा ¥याली निकालिएको छ । मटेहिया चोकबाट शुरु भएको वडा नम्बर ५ र ६ को संयुक्त ¥याली महेन्द्र मावि हुँदै गाउँ परिक्रमा गरेर पुनः मटेहिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिलामाथि हुने हिंसा अन्त्यका लागि सबै गम्भीर हुनुपर्ने बताए ।

लिङ्गका आधारमा हुने विभेद अन्त्य नगरेर समतामूलक समाज निर्माण हुन नसक्ने बताउँदै अध्यक्ष शाहले महिलालाई शिक्षित बनाउन जरुरी रहेको बताए । उपाध्यक्ष जयन्तिदेबी श्रीवास्तबले लैंगिक विभेद अन्त्यका लागि यस्ता अभियान १६ दिन मात्रै नभएर निरन्तर चलिरहनुपर्ने आवश्यकता औंल्याइन् । महिला भएकै कारण हुने विभेद अन्त्यका लागि शिक्षित र सभ्य समाज निर्माण जरुरी रहेको उनको भनाई थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बालविवाहले हिंसा बढाएको बताउँदै बालविवाह कानुनले बर्जित गरेकाले बालबालिकाको शिक्षादिक्षामा अभिभावकहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

कोणसभामा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरिक्षक मान बहादुर विसी र नेपालगञ्ज उद्योग बाणिज्य संघकी उपमहासचिव तारा कुमारी खत्री रोकायले पनि मन्तव्य व्यक्त गरेका थिए । ¥यालीमा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा सदस्यहरु लगायत ५ र ६ नम्बर वडाका २ सय बढी महिलाहरुको सहभागिता रहेको महिला बालबालिका शाखाकी प्रमुख कृष्णा कुमारी चन्दले जानकारी दिइन् । गाउँपालिकाको महिला तथा बालबालिका शाखा र सुआहाराको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १७ गते मंगलबार