कोहलपुरमा क्रिकेट प्रतियोगिता हुँदै



कोहलपुर ।

बाँकेको कोहलपुरमा आगामी मंसिर ७ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको छ । कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष तथा प्रदेश नम्बर ५ का संयोजक दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् । उक्त प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघले सञ्चालन गर्नेछ ।

आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिता बारे जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा संघ अध्यक्ष दुर्गा थापा मगरले बाँके जिल्लाको क्रिकेट विकासमा प्रतियोगिताले मद्धत पु¥याउने बताएका थिए । प्रतियोगितामा नेपालगञ्ज र कोहलपुरका गरि ६ टीमले प्रतिस्पर्धा गर्नेछन् । मंसिर ७ देखि १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगञ्ज क्याम्पस, नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताबाट जिल्लाको दुई वटा सिनियर टोली र एक वटा यु १९ टोली छनोट गरेर प्रतिस्पर्धा गराउने समेत संघको योजना रहेको अध्यक्ष थापाले पत्रकार सम्मेलनमा बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार