कोहलपुरमा वडाबाटै अनलाईन मार्फत राजस्व



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका १५ वटै वडाहरुमा राजस्व बुझाउन अनलाईन सेवा सुरु गरिएको छ । नगरपालिका सबै वडाहरुमा आईबारबाट औपचारिक रुपमा अनलाईन सेवा सुरु गरिएको हो । एक महिना अघि देखि सबै वडामा परीक्षणका रुपमा सेवा सुरु गरिएको थियो । अब नगरबासीले सम्बन्धित वडा मै अनलाइन मार्फत राजस्व तिर्न सक्नेछन् ।

वडा कार्यालयहरुमा वडा सचिवहरुले काम गर्ने गरी सेवा सुरु गरिएको कोहलपुर नगरपालिका सूचना प्रविधि अधिकृत राजेश चापागाईले जानकारी दिए । ‘अब सम्पति कर लगायतका अन्य कर सम्बन्धित वडा कार्यालय मार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ’ उनले भने, ‘व्यवसायिक कर र घरबहाल कर भने राजस्व फाँट मै आएर बुझाउनुपर्छ ।’

वडा कार्यालयमा अनलाइन सेवा सुचारु गर्नको लागि सबै वडाका सचिवहरुलाई तालिम प्रदान दिइएको थियो । ‘सचिवहरुलाई गत असोज ३ र ४ गते सम्पति कर तथा राजस्व प्रणालीका विषयमा तालिम दिएका थियौं’ सूचना प्रविधी अधिकृत चापागाई भने, ‘उहाँहरुलाई अनलाईन प्रणालीमा पोख्त बनाएपनि सेवा औपचारीक रुपमा सुरु गरिएको हो ।’

अब वडा मै घटना दर्ता, बहाल बिटौरी, एकिकृत सम्पति कर, दर्ता सिफरिस र अन्य सिफारिस कर वडा कार्यालय मै बुझाउन सकिनेछ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै समावेश गरिएको कार्यक्रम अन्तर्गत अनलाईन सेवा सुरु गरिएको जानकारी दिए ।

स्थानीयको सहजता र सजिलोको लागि सेवा वडाबाटै सेवा दिन सुरु गरिएको उनले बताए । सामान्य राजस्व तिर्नको लागि मात्रै नगरपालिका आउनै पर्ने बाध्यता अब हटेको नगर प्रमुख रावतले दाबी गरे । ‘संघियताको मर्म अनुसार हामी जनताको सेवामा निरन्तर लागि परेका छौ’ उनले भने, ‘वडा कार्यालय मै कर तिर्ने व्यवस्था समेत निकै सघाउ पुग्ने हाम्रो विस्वास रहेको छ ।’ यस अघि सम्पुर्ण कर नगरपालिकाको कार्यपालिकाको राजस्व फाँट मै कर तिर्दै आएको थियो ।

अब भने कर तिर्नको लागि नगरपालिकामा धाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको हो । राजस्व अनलाईन सम्बन्धि तालिम प्राप्त गरेका सचिवहरुले भने तालिम पश्चात आफुहरुलाई काम गर्न सजिलो भएको बताएका छन् । कोहलपुरको सबैभन्दा बढि सेवाग्राहीको चाप हुने वडा नम्बर ११ मा कार्यरत सचिव मणिराम रिमालले पहिले राजस्व अनलाईनका बारेमा राम्रो ज्ञान नभएकोले समस्या हुने गरेको भएपनि अहिले भने समस्या नरहेको बताए । परीक्षणको रुपमा कार्तिक ५ गते बाट सुरु भएदेखि आईतबार सम्म २ सय ४७ जनाले सेवा लिएको वडा सचिव रिमालले जानकारी दिए ।

कर मार्फत वडाबाट एक महिनाको अवधिमा २ लाख १० हजार राजस्व संकलन भएको उनको भनाई रहेको छ । सम्बन्धित वडामा सेवा पाउने भएपछि भने नगरबासी खुसी भएका छन् । उनीहरुले नगरपालिकामा आउन आर्थिक तथा समयका हिसाबले खर्चिलो हुने गरेको बताए ।

वडा नम्बर १, का स्थानीय सरोज केसीले वडा मै कर बुझाउने व्यवस्था भएको भन्दै खुसी व्यक्त गरे । उनका अनुसार नजिकैको ठाउँमा सेवा पाईने भएपछि निकै सजिलो हुनेछ । सेवाग्राहरी मैत्री नगरपालिकाको निर्णय स्वागतयोग्य रहेको नगरबासीले प्रतिक्रिया दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार