सिमा अतिक्रमण रोक



नेपालको सिमा अतिक्रमणको विषय पुनः एकपटक सतहमा आएको छ । लामो समय देखी देशका विभिन्न स्थानमा सिमा अतिक्रमणको विषय चर्चाको विषय समेत बन्ने गरेको छ । पछिल्लो समय दक्षिण छिमेकी भारतले आफ्नो राजनितिक नक्सा सार्वजनिक गरेपछि यो विवाद निम्तिएको हो । कारण नेपाली भूमि आफ्नो देशको नक्सामा समेत समावेश गर्नु । भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेक समेटिएको छ । नेपाल र भारत बीच सुगौली सन्धि देखी नै सिमा विवाद रहदै आएको छ । निकै लामो समय सम्म सिमा क्षेत्र विवादले भारत र नेपाल बीचको सम्बन्धमा समेत चिसोपना ल्याई रहेको छ ।

भारतको विस्तारबादी नीतिका कारण नेपालको धेरै भूभाग अतिक्रमण भइसकेको अवस्था छ । चार दिन अघि भारतले नक्सा सार्वजनिक गरे सँगै नेपालमा भारतका बिरोधमा बिरोध प्रदर्शन भईरहेका छन्, सर्वसाधारण जनताको तर्फबाट । जनस्तरबाट व्यापक बिरोध भएपछि सरकारले समेत कालापानी र लिपुलेक नेपाली भूमि भएको बताईसकेको छ । भारतको सिमा अतिक्रमणको श्रृंखला कालापानी र लिपुलेकमा मात्रै सिमित छैन । नेपाल र भारत सिमा विवाद ७१ स्थानमा छ । भारत सँग सिमा जोडिएका २६ जिल्ला मध्ये २३ जिल्ला सिमा समस्या रहेको छ । सिमाविद् बृद्धिनारायाण श्रेष्ठको ‘सिमा संग्राम’ नामक पुस्तकमा ६० हजार ६ सय २७ हेक्टर जमिन भारतले मिचेको उल्लेख गरेका छन् । यो बढ्दो क्रममा छ । यो दार्जुला देखी ताप्लेजुङ सम्मको संख्या हो । भारतको सिमा अतिक्रमण श्रृंखला १८५६ बाट सुरु भएको हो । यो क्रम अहिले सम्म जारी छ ।

सिमा अतिक्रमणका विषयमा लामो समयदेखी कुटनितिक रुपमा पहल भईरहेको भएपनि समस्या समाधान हुन सकेको छैन । समस्याको समाधान नहुँदा नेपालले आफ्नो भूमि गुमाईरहेको छ भने भारतले अतिक्रमणको श्रृंखला रोकेको छैन । यस पटक पनि नेपाल सरकारले कुटनितिक पहल गरिने बताएको छ । तर पटक पटक राष्ट्रप्रमुखको नेपाल– भारत भ्रमणको क्रममा यस विषयले कहिल्यै प्राथमिकता पाएको देखिदैन । फलतः नेपाली भूमि गुमेको गुमै छ । अब यस विषयमा नेपालले आफ्नो समस्या र भारतको चरित्रको विषयमा आमने सामने भएर बहस गर्ने बेला भएको छ । अनाधिकृत रुपमा सिमा मिचिदाँ जुन किसिमले कुटनितिक पहल हुनु पर्ने हो त्यसको कमि देखिन्छ । यदि नजिकैको छिमेकी हुनुको नाताले भारतले आफ्नो छिमेकीको अस्तित्व स्विकार गर्न सक्नु पर्दछ । भारतले सिमा अतिक्रमण रोक्नैपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार