दाङ ।
आगामी मङ्सिर १४ गते दाङमा हुन गइरहेको उपनिर्वाचनको दाङ क्षेत्र नं ३ ख र घोराही उपमहानगरपालिका–१६ मा चुनावी चहलपहल बढेको छ । अहिले त्यहाँका टोल, चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा–परिचर्चा चलेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र साझा पार्टीले प्रदेशसभा सदस्यका उम्मेदवारको टुङ्गो लगाएका छन् भने नेपाली काँङ्ग्रेसले उम्मेदवार छनोट गर्न बाँकी छ । वडाध्यक्षका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेकपाले दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काङ्ग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
सो क्षेत्रमा उम्मेदवार चयनका लागि जिल्लाबाट १० जनाको नाम सिफारिस गरेका कारण उम्मेदवार छान्न सकस परेको छ । सम्भवतः भोलि टुङ्गो लाग्ने जिल्लाका एक नेताले जनाएका छन् । त्यसैगरी राप्रपाले प्रदेशसभाका लागि जिल्ला उपाध्यक्ष भूपाल रावत, राष्ट्रिय जनमोर्चाले दिलाराम बुढाथोकी र साझा पार्टीले शिवकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवार चयन गरेको छ । नेकपाबाट उम्मेदवार बन्नुभएका वली सो क्षेत्रका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीकी धर्मपत्नी हुन् । वलीको गत फागुनमा प्रदेशसभाको बैठकबाट फर्कने क्रममा आफ्नै कार दुर्घटना हुँदा निधन भएको थियो । यसैबीच मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनअन्तर्गत दाङमा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराहीस्थित जिल्ला वकिल कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको अध्यक्षता तथा दाङका प्रजिअ गोविन्दप्रसाद रिजालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादितरूपमा सम्पन्न गराउन सबैले सहयोग गर्नुपर्ने बताए । दाङ क्षेत्र नं ३ को (ख) मा तुलसीपुर उपमहानगरपमलिका–१, २, १० र ११ वडा त्यस्तै शान्तिनगर, दङ्गिशरण र बबई गाउँपालिका पर्दछन् भने कूल मतदाता ६८ हजार ७१९ रहेका छन् । पुरुष मतदाता ३३ हजार ७७८ महिला मतदाताको सङ्ख्या ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिए । प्रदेशसभाका लागि ३२ र वडाका लागि जम्मा दुई गरी जम्मा ३४ मतदानस्थल निर्धारण गरिएको पनि निर्वाचन कार्यालय दाङका प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका लागि ७७ र वडाका लागि पाँचवटा गरी जम्मा ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई सुदृढ पारिएको छ । प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचन सुरक्षा कार्ययोजना बनाइसकेको जानकारी दिए ।
उनले मतदानस्थललाई वर्गीकरण गरिएको पनि बताए । उनका अनुसार २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । उनले ढुक्क भएर मतदातालाई मतदान गर्ने वातावरण तयार गर्ने, मतदानस्थल मतदान केन्द्रको प्रभावकारी सुरक्षा प्रवाह गर्ने र सबै सुरक्षा निकायको समन्वयमा काम गरिनेसमेत बताए । यसैबीच घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । सो वडाका वडाध्यक्ष लक्षिणप्रसाद बुढाको पनि केही महिनापहिले उपचारका क्रममा मृत्यु भएको हो ।
सो वडाको मतदान गराउन उच्च अदालत तुलसीपुरका उपसचिव प्रेम खड्कालाई निर्वाचन अधिकृत तोकिएको छ । अहिलेसम्म नेपाली काङ्ग्रेस दाङले वडाध्यक्ष पदका लागि तरुण दल दाङका नेता रहेका तारा डिसीलाई उम्मेदवार चयन गरेको छ भने नेकपा तथा अन्य दलले उम्मेदवारको अझै टुङ्गो लगाएका छैनन् । सो वडामा चार हजार ४५३ मतदाता रहेका छन् । पुरुष दुई हजार ८८ र महिला दुई हजार ३६५ रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्