कोहलपुर ।
बिहीबार राती बाँकेको गनापुरबाट पक्राउ परेका तरुण दलका नेता तथा कार्यकर्ताहरुको रिहाईको माग राख्दै तरुण दल बाँकेले प्रदर्शन गरेको छ । शनिबार कोहलपुरको चौराहामा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा तरुण दल बाँकेले केहीबेर प्रदर्शन गर्नुका साथै चक्काजाम समेत गरेको थियो । अत्याधुनिक हतियारसहित तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहसहित अन्य तीन जना पक्राउ परेका थिए । तरुण दलले भने राजनितिक पुर्वाग्राही राखेर आफ्ना नेता कार्यकर्ताहरुलाई फसाएको बताउँदै आएको छ ।
तरुण दल बाँकेका सचिव विनोद रिजालले प्रहरीले कसैको दबाबमा नेतामाथि मुद्दा दर्ता नगरोस् भनेर आन्दोलनमा उत्रिनुपरेको बताए । ‘हतियारसहित पक्राउ परेका नेतालाई तत्काल छोड्नुपर्छ भनेर आन्दोलनमा उत्रिएका होइनौं’ उनले भने, ‘हतियार बरामद भएपछी प्रहरीले अनुसन्धान गर्ने काम हो । तर कसैको दबाबमा झुटा मुद्दा भने लगाउन पाउँदैन ।’ केन्द्रको निर्देशन अनुसार नै आफुहरु आन्दोलनमा उत्रिनुपरेको जिल्ला सचिव रिजालले जानकारी दिए । विरोध प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय कोहलपुर विरुद्द चर्का नाराबाजी गर्नुका साथै डिएसपी हेम बहादुर शाहीको राजिनामा समेत माग गरेका थिए ।
जानकी गाउँपालिका ६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टको पुर्व तर्फको पार्किङ राखिएको नगर सभापति शाहको कारबाट लोड गरेको अवस्थामा अत्याधुनिक पेस्तोल प्रहरीले बरामद गरेको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको टेण्डरलाई आफूले चाहेको व्यक्तिलाई पार्न लागि परेका चार जना युवाले दुई जना ठेकेदारलाई नेपालगञ्ज बाहिर नमस्ते रेष्टुरेन्टमा लगेर सम्झाइरहेको बेलामा प्रहरीले खानतलासी गर्दा अत्याधुनिक पेस्तोल र त्यसको दुई गोली बरामद भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
सभापति शाहको कारको सीटमुनीबाट ‘मेड इन युएसए’ लेखेको अत्याधुनिक पेस्तोल लोड गरेको अवस्थामा फेला परेको थियो । कोहलपुर प्रहरीले अत्याधुनिक हतियारसहित पक्राउ परेका नगर सभापति शाह, प्रितम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई शुक्रबार अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । शाह बाहेकका अन्य तीन युवाहरु हत्या अभियोगमा तीन वर्ष जेल बसेर छुटेका हुन् । प्रितम, माधव र यामबहादुर नेपालगञ्जकै युवा चेतन मानन्धरलाई दिउँसै खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा तीन वर्ष जेल बसेर तीन महिना अघि छुटेका थिए ।
तरुण दलका नेतासमेत रहेका शाहलाई केही दिनअघि मात्रै नेपालगञ्जमै आक्रमण भएको थियो । प्रहरीका अनुसार, फेरि पनि आफूलाई आक्रमण हुन सक्ने आकलन गरेर शाहले पेस्तोल राखेर हिड्ने गरेका थिए । भारतबाट किनेर ल्याएको आशंका गरिएको छ । विगत लामो समयदेखि यी युवाहरुले ठेक्कापट्टामा हात हाल्दै आएका थिए । साढे तीन वर्षअघि मानन्धरलाई पनि ठेक्कापट्टाकै रिसिइबीका कारण हत्या गरिएको थियो । मानन्धर काण्डका नाइके रिगल भनिने योग ढकालसहितका अरु अझै जेलमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्