16 July 2024  |   मङ्लबार, साउन १, २०८१

२२ बढीलाई जिउँदो जलाएको आरोपमा पक्राउ परेका आलमको समर्थनमा सडकमा उत्रियो काँग्रेस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ९, २०७६  

रौतहट ।

निलम्बित सांसद मोहम्मद अफ्ताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् ।

सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । गौतमले शुक्रबार बिहान निर्धारित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।

गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार हुने प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष अनुरोधमा हुने भएको बताइएको छ ।

काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताए । उनले आफु भने अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने बताए ।

आलम पक्राउ परेलगत्तै काँग्रेसका नेता विश्वप्रकाश शर्माले घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने बताएका थिए । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् ।

सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार मात्र अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ९, २०७६     7:10:09 AM  |