18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

दैलेखमा दश हजार मेट्रिकटन खाद्यान्न अपुग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

चेत नारायण पाण्डेय

कर्णाली प्रदेशको दैलेख जिल्लामा हरेक वर्ष उत्पादनको अवस्था घट्दो क्रममा रहेको छ । उत्पादन क्षेत्र बाँझो हुदै जानु, यूवा शक्ति बिदेशिनु जस्ता कारणले उत्पादनको अवस्था घट्दै गएको हो ।

अहिले वर्षेनी दैलेखमा ५८ हजार ९ सय ३० मेट्रिक टन प्रति बर्ष भएपनि उत्पादन क्षमता ४८ हजार ६ सय २२ छ । वर्षेनी उत्पादन पनि घट्दै गएको पाइएको छ ।

अहिले जिल्लामा १० हजार १ सय ४८ मेट्रिक टन खाद्यान्न अपुग भएको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।

कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेले अपुग खाद्यान्न समस्याको पुरा गर्नका लागि स्थानीय सरकारले कृषि क्षेत्रमा प्रभावकारी योजना ल्याउनुपर्ने र त्यहि अनुसार काम गर्नुपर्ने बताएका छन् ।

दैलेखमा खाध्यन्न उत्पादनका लागि समयानुकुल पानी नपर्ने तथा मौषमा आउने प्रतिकुल असरका कारण उत्पादनमा ह्रास आएको उनले बताए ।

कर्णाली प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले सिंचाई अभाव भएका स्थानहरुमा सिंचाई कुलो, पहाडि जिल्लामा माटो सुहाउदो बिउ बिजन वितरण लगायत सामुहिक खेती जस्ता कामहरुका लागि पहल थाले पनि सहयोग नपाएको गुनासो उनले गरे ।

परम्परागत खेती प्रणालीका कारण उत्पादनमा दिनप्रतिदिन समस्या हुँदै आएकोले कृषि विकास कार्यालयले यसको खोजी गर्दै समाधानका उपायहरु निकाल्ने तयारी गरेको बताएका छन् ।

सडकको सहज पहुँच भएसंगै खाद्यन्न सिधै बाह्य जिल्लाबाट आउने भएपछि बाली उत्पादन तर्फ मानिसहरुको इच्छा हराउँदै गएको र मानिसहरु किनेर बाह्य उत्पादन तर्फ निर्भर हुदै गएकाले पनि उत्पादनमा गिरावट आएको हो ।

व्यवसायिक किसानहरुलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले सहयोग प्रदान गर्दै आएको भएपनि बास्तविक किसानहरुको हातमा अँझै पुग्न नसकेको सरोकारवाला बताउँछन् ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख एवम् जिल्ला खाद्य सुरक्षा समितिका संयोजक प्रेम थापाले प्रत्येक युवाहरुले आफ्नो कर्मप्रति बिश्वास गरेर उत्पादनमा जोडिन सक्यो भने दैलेख जिल्लामा खाद्यान्न अपुग नहुने बताए ।

जिल्लामा व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि पुर्वाधार तथा सिपको विकास गर्न नसकेको तथा प्रयाप्त तालिमको व्यवस्था गर्न सके स्थानिय तहले अनुदानमा लगानी गरेर भएपनि युवाहरुलाई स्वरोजगारमा लगाउन सकिने नारायण नगरपाका दैलेखका प्रमुख रत्त बहादुर खड्काले बताए।

उनका अनुसार केहि युवा समुहलाई नगरपालीकाले तालिम दिएर नगरपालीकाको विकास निर्माणका काममा लगाएको तथा केहीलाई बिभिन्न संघ संस्था सँगको सहकार्यमा तालिम प्रदान गरिएको बताए ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     12:00:54 PM  |