गौहत्या आरोपमा तीन पक्राउ



कोहलपुर ।

बाँकेको खजुरा गाउँपालिकाबाट प्रहरीले गाई काटेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । खजुरा गाउँपालिका ७ बढुवाको खेतमा बुधबार राती गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् । राती गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो ।

‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगि सकिएको थियो,’ इलाका प्रहरी कार्यालय, धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषण थपलियाले भने । तीन जनाको घरबाट मासु बरामद गरिएको उनले जानकारी दिए । तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै उनले घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको बताए । प्रहरी निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने जानकारी दिए । उनका अनुसार फौजदारी संहिताको २०७४ को परिच्छेद २७ अनुसार उनीहरुलाई कारबाही हुनेछ । सो परिच्छेदमा गाई गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरेको छ ।

यदी कसैले गाई गोरु मार्ने गरेमा वा कुनै नियतले चोट पुर्याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद र अंगभंग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ । गाई गोरुलाई चोट पुर्याएमा रु.५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ । पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरे अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रबार