6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

संविधान कार्यान्वयनसँगै समृद्धि : मन्त्री थापामगर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

पोखरा।  गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनसँगै मुलुकले समृद्धि प्राप्त गर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आज पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई फलफूल वितरण कार्यक्रममा बोल्दै उहाँले संविधानले सबैको हक र अधिकारलाई सुचिश्चित गरेको बताउनुभयो ।

मानव सेवा जस्तो धर्म अरु कुनै पनि नभएको उल्लेख गर्दै उहाँले समाजका असहाय ज्येष्ठ नागरिक, विपन्न वर्गका बालबालिकाको क्षेत्रमा संलग्न विभिन्न सङ्घसंस्थाका लागि प्रदेश सरकारको सहयोग रहने जानकारी दिनुभयो ।

पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले आश्रममा विभिन्न जिल्ला र समुदायबाट आएका कठिन परिस्थितिका ६५ वृद्धवृद्धा र १० सेवकसेविका आवद्ध रहेको जानकारी दिनुभयो । आमाबुबालाई मायाममता दिएर घरमै राख्ने र सहारा कोही पनि नभएका ज्येष्ठ नागरिकलाई मात्र वृद्धाश्रममा ल्याउनुपर्ने संस्कारको विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले मानव परोपकारी संस्थालाई सरकारीस्तरबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वृद्धाश्रमका उपाध्यक्ष कुसुमकेशव पराजुली, मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारीलगायतले वृद्धाश्रमले राज्यको दायित्वभन्दा माथि उठेर समाजका विपन्न एवं असहाय ज्येष्ठ नागरिकको सेवामा समर्पित रहेको बताउनुभयो ।

प्रदेश सरकारले संविधान दिवसको तीनदिने कार्यक्रमअन्तर्गत आज अन्तिम दिन पोखरा र आसपासका विभिन्न छ सङ्घसंस्थामा फलफूल तथा आवश्यक भौतिक सामग्री वितरण गरेको थियो । -रासस

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     9:31:38 AM  |