8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

बाँसगढी नगरपालिकाको रचनात्मक काम, सरकारी स्कुलमा छोराछोरी पढाउने कर्मचारी सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६  

बाँसगढी, बर्दिया ।

सामुदायिक विद्यालय प्रति आम नागरिकको विश्वास दिलाउन बाँसगढी नगरपालिकाले रचनात्मक कामको थालनी गरेको छ । संविधान दिवसको खुसीयाली मनाउदै गर्दा शुक्रबार नगरपालिकाले सामुदायिक विद्यालय प्रति सम्मान, ईज्जत र विश्वास बढाउन योगदान पु¥याउने जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय र विद्यार्थीलाई सम्मान र पुरुस्कृत गरेर रचनात्मक कामको थालनी गरेको हो । नगरपालिकाले गरेको यो कार्यले सामुदायिक विद्यालय प्रति आम नागरिकहरुको विश्वास बढेको र संविधान दिवस मनाउनुको सार्थकता पनि थपेको आभास गरिएको छ ।

नेपाल सरकारको नितिलाई सहयोग गर्दै आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउँदै आएका जनप्रतिनिधी, शिक्षक र कर्मचारीहरु गरी ९२ जनालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दिवसको अवसरमा भएको भव्य समारोहका बिच सरकारी विद्यालयमा छोरा छोरी पढाउने ७ जना जनप्रतिनिधी, ४० जना शिक्षक र ४५ जना कर्मचारी गरी ९२ जनालाई सम्मान गरिएको नगर शिक्षा शाखा बाँसगढीका प्रमुख मन प्रसाद रेग्मीले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट जिपिए ल्याउने नेरा मावि बाँसगढीका सर्विना तिमिल्सेना, पुर्णहिरा मावि लक्ष्मणाका प्रशान्त पाण्डे, त्रिभुवन मावि ककौराका विपिन राना र संस्थागत विद्यालय बालज्योति एकेडेमी ककौराका बिमल कुमार थारुलाई प्रोत्साह स्वरुप १० हजार छात्रबृति सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियो ।

नगर स्तरिय आधारभुत शिक्षा उत्तीर्ण परीक्षा २०७५ मा उत्कृष्ट जिपिए ल्याउने पुर्णहिरा मावि लक्ष्मणाका प्रेरणा देवकोटा, नेरा मावि बाँसगढीकी गंगा कुमारी वली र शिव आधारभुत विद्यालय उत्तरभकारीका दुर्गा विकलाई ५ हजार छात्रबृति सहित सम्मानपत्र दिएर सम्मान गरियो । दिवसको अवसरमा शैक्षिक सत्र २०७६ मा अत्यधिक विद्यार्थी भर्ना गर्ने नेरा मावि बाँसगढी, विश्वजोति आधारभुत विद्यालय राजिपुर र मुक्तकमैया विकास प्रावि शान्तीनगरलाई नगद १ लाख र सम्मान पत्रका साथ सम्मान गरिएको छ ।

त्यस्तै माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट जिपिए ल्याउने विद्यालय पुर्णहिरा मावि लक्ष्मणा, रामजानकी मावि र संस्थागत विद्यालय तर्फ बालज्योति एकेडेमी ककौरालाई नगद १ लाख सहित सम्मान पत्रले सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७६ मा प्राथमिक विद्यालय तर्फ अत्यधिक विद्यार्थी भर्ना गर्न सफल जनकल्याण प्रावि मगरपुरलाई १ लाख नगद सहित सम्मान पत्रले सम्मान तथा पुरुस्कृत गरिएको थियो । नगरपालिकाले बाँसगढी क्षेत्रका विभिन्न वडाका उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई समेत सम्मान गरेको छ ।

नगरपालिका भित्रका ९ वडाका तीन तीन वटा उपभोक्ता समितिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संविधान दिवसकै अवसरमा नगरपालिकाले बर्ष भरी उत्कृष्ट काम गर्ने बाँसगढी नगरपालिकाका नायव ऋषिराम शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । नगर प्रमुख सालिकराम अधिकारीले सबैलाई सामुदायिक विद्यालय प्रति अपनत्व, प्रेरणा, उत्साहित र जिम्मेवारी बोध गराउन सन्देश दिने कार्यको सुरुवात गरिएको बताए ।

‘सामुदायिक विद्यालयप्रति केही भएपनी अभिभावकहरुको आकर्षण बढाउनको लागि यस्तो कार्यक्रम गरेका हौं’ उनले भने, ‘आगामी दिनमा नगरपालिकाले सामुदायिक विद्यालयमा आकर्षण बढाउनको लागि गुणस्तरमा समेत ध्यान दिनेछ ।’

प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६     8:53:55 AM  |