कोहलपुर ।
बाँकेको कोहलपुरमा राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाइने भएको छ । ‘सुनिश्चता बाल अधिकार, सम्वृद्धि नेपालको आधार’ भन्ने मुल नाराका साथ आइतबार कोहलपुर नगरपालिकाको आयोजनामा राष्ट्रिय बाल दिवस मनाइन लागेको हो । शुक्रबार राष्ट्रिय बाल दिवस २०७६ को पूर्वसन्ध्यामा माध्यामिक स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले जानकारी दिइन् । दिवसको अवसरमा आइतबार बिहान कोहलपुरमा प्रभातफेरीको आयोजना गरिने उनीले बताइन् ।
‘दिवस भव्यताका साथ मनाउने क्रममा आइतबार कोहलपुर चौराहाबाट भव्य प्रभातफेरी निकालिने छ’ उपप्रमुख चौधरीले भनिन्, ‘प्रभातफेरीमा स्थानीय जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी लगायतको सहभागिता रहनेछ ।’ कोहलपुर नगरपालिका नगर शिक्षा शाखाका विद्यालय निरीक्षक जीवन न्यौपानेले बालबालिकाहरु माथि भइरहेको हिंसा र दुव्र्यवहारको निराकरण गरी उनीहरुको व्यक्तित्वको विकास नरोकिने खालको सहज परीस्थितिको जगेडा गर्नु मुख्य उद्देश्य रहेको बताए ।
‘बालबालिकाहरुले शिक्षाबाट बञ्चित रहेका छन्’ उनले भने, ‘कुनै कुनै त खान नपाएर कुपोषणको शिकार भईराखेका छन् ।’ उनीहरु घरेलु हिंसा, बेचविखनको शिकार बन्न पुगेका जस्ता थुप्रै समस्याहरुबाट बालबालिकाहरु समस्यामा परेको न्यौपानेले दाबी गरे ।