कोहलपुर ।
बाँकेको नगरपालिकाले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । बिहीबार नगर शाखा प्रमुख, विद्यालयका प्राधानाध्यापक र गैर संघ—सस्थाहरुको विचमा भएको छलफलले भव्यताका साथ दिवस मनाउने निर्णय भएको हो । नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, कर्मचारीहरु अनिवार्य उपस्थिति हुनपर्ने बताए । हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको नेपालको संविधान दिवसलाई कोहलपुरमा पनि भव्य रुपमा मनाइने उनले जानकारी दिए ।
नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले नेपालको संविधानले सङ्घिय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गरेको बताइन् । उनका अनुसार संविधान दिवसको अवसरमा असोज २ गते बिहान कोहलपुर चौराहबाट सरसफाई गरिने छ । ‘असोज २ गतेकै दिन दिउँसो १२ बजेबाट रक्तदान कार्यक्रम गर्नेछौं’ उनले भनिन्, ‘संविधान दिवसको दिन अर्थात असोज ३ गतेका दिन बाजागाजा सहितको प्रभातफेरी निकालिनेछ ।’ दिवसको अवसरमा असोज ४ गते निबन्ध प्रतियोगिताको समेत आयोजना गरिने नगरपालिकाले जनाएको छ ।
पञ्चमुखी माध्यामिक विद्यालयका संस्थापक किशोरराज मल्लले असोज २ गतेका दिन सम्पूर्ण विद्यालयका प्राङ्गणहरु सरसफाई गरिने बताए । ‘कोहलपुरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्राधानाध्यापकहरुलाई अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ’ उनले भने, कोहलपुरका सम्पूर्ण संघ संस्थाहरुलाई संविधान दिवसको अवसरमा प्रभातफेरीमा उपस्थित हुनका लागि सबैलाई अनुरोध समेत गर्दछु ।’ दिवसको अवसरमा हुने प्रभातफेरीमा सबै जनप्रतिनिधी, व्यवसायी, सुरक्षा निकायहरु, स्थानीय लगायतको सहभागिता रहने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्