8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

जलवायु परिवर्तनको असर न्यूनीकरण लागि वृक्षारोपण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६  

बर्दिया ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अर्थोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले १३ हजारबढी विरुवा रोपिएको छ । सिएसडिआर बाँकेको परियोजना कार्यालय राजापुर मार्फत विभिन्न जातका १३ हजार ४० वटा विरुवा बर्दिया र कैलालीका विभिन्न सामुदायिक वन, विपद् व्यवस्थापन समिति र मध्यवर्ती सामुदायिक वनसँगको सहकार्यमा रोपिएको हो ।

सामाजिक विकास तथा अनुसन्धान केन्द्र (सिएसडिआर) ले यूनेपरजेड जुरिक फाउण्डेसनको आर्थिक सहयोग तथा प्राक्टिल एक्सन नेपालसँगको साझेदारीमा वृक्षारोपण गरिएको थियो । साउन र भदौ महिनामा कैलाली र बर्दियाका ८ स्थानमा वृक्षारोपण तथा तिनीहरुको संरक्षणमा तारबारको काम सम्पन्न गरिएको सिएसडिआरका कार्यक्रम संयोजक सुरेन्द्र ठगुन्नाले बताए । कैलालीको जानकी गाउँपालिका–९ स्थित बक्लौवा, टिकापुर नगरपालिका वडा नं. ८ को बनगाउँ, वडा नं. ५ कोे कर्मीडाँडामा वृक्षारोपण गरिएको हो ।

त्यस्तै, बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ को चक्खापुर, तिघ्रा, गेरुवा गाउँपालिका वडा नं. ३ को सोनाहा गाउँ, वडा नं. ४ को दक्षिण पुर, राजापुर नगरपालिका वडा नं. ३ को नंगापुरमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण गरिएका स्थानमा विरुवाको सुरक्षाको लागि तारबार समेत गरेको छ । सबै ठाउँमा गरी २ हजार ६ सय ७० मिटर क्षेत्रफलमा काँडेतार लगाइएको कार्यक्रम संयोजक ठगुन्नाले बताए । बेत, बास, सागुन, लिप्टिस, तेजपत्ता, सितल चिनी, खयर, जामु, रक्तचन्दन, पापुलर, आँप, लिचि, कटहर, अनारका विरुवा वृक्षारोपण गरिएको हो । काडेतारका लागि ८ सय ९२ वटा सिमेन्टका पोल समेत बनाइएको थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६     10:12:25 AM  |