23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावटको मुद्दा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६  

 कोहलपुर ।

बाँकेमा रहेको नेपाल पान मसला उद्योगमाथि राजस्व अनुसन्धान विभागले राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । गएको आर्थिक वर्ष २०७३÷०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोगमा विभागले मुद्दा दायर गरेको हो । नेपालगञ्ज उपमहानगपालिका वडा नं १ खजुरा रोडमा रहेको उद्योगले आर्थिक वर्ष २०७३÷०७४ देखि अन्तशुल्क, मूल्य अभिबृद्धि र आयकर छली गरेको अभियोगमा सोमबार विभागले बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७७४ रुपैयाँ बिगो कायम गरेको छ । उद्योगसँगै कम्पनीका प्रोपाइटर कुतबुद्दिन शेषलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । राजस्व चुहावट नियन्त्रण तथा नियमन ऐनको व्यवस्था अनुसार कसुर ठहर भएमा दोषीमाथि तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । यस्तै, बिगोको दोब्बरसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । अन्तःशुल्क स्टिकर टाँस नगरि पान मसला बजारमा पठाएको र अन्य कर पनि नतिरेको अनुसन्धानबाट पाइएकाले मुद्दा दायर गरिएको विभागले प्रष्ट पारेको छ ।

प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     8:30:03 AM  |