सम्मानपत्रमा नाम नभएपछि उपमेयरद्वारा बहिष्कार



कृष्ण ओली । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जुकुमारी थारुले नगरपालिकाले नै आयोजना गरेको एक कार्यक्रम बहिष्कार गरेकी छिन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरपालिकाले आइतबार आयोजना गरेको कार्यक्रम उनीले बहिष्कार गरेकी हुन् । दिवसको अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम थियो । केहीबेर कार्यक्रममा उपस्थित भएकी नगर उपप्रमुख थारुले सम्मानपत्रमा आफ्नो नाम नदेखेपछि बहिष्कार गरेकी थिइन् । अगाडि राखिएका सम्मानपत्र हेरेपछि आफ्नो नाम कतै नदेखेपछि उनी कार्यक्रम स्थलको मञ्चबाट बाहिरिएकी थिइन् । उनीसँगै नेपाली काँग्रेसका नगर सभापति बलराम शर्मा तथा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले समेत बहिष्कार गरेका थिए ।

यसबारे नेपाली काँग्रेसबाट निर्वाचत भएकी नगर उपप्रमुख थारुलाई बुझ्न खोज्दा नगर सभापतिलाई सोध्न भन्दै फोन राखिन् । नेपाली काँग्रेस कोहलपुरका नगर सभापती शर्माले कार्यक्रम गर्ने कार्यशैलीको विरोधमा बहिष्कार गरिएको बताए । ‘कार्यक्रमको सुरुमा नै आसनग्रहण गराउने बेला नै कार्यशैली ठिक भएन’ उनले भने, ‘आसन ग्रहणको बेला कार्यपालिका र वडाअध्यक्षको मर्यादाक्रम अनुसार आसन ग्रहण हुन सकेन ।’ नगर सभापती शर्माले सम्मानपत्रमा मर्यादाक्रमको ख्यालै नराखी उपमेयरको नाम हटाइएकाले बहिष्कार गर्नुपरेको बताए । ‘नगरपालिकाकाले नगर उपमेयरको मर्यादाक्रममा ख्यालै गरेको पाइएन्’ उनले भने, ‘मर्यादाक्रममा उपमेयर भन्दा धेरै तल रहेका व्यक्तिहरुको सम्मानपत्रमा नाम राखियो तर उपमेयरको नाम हटाइयो । त्यसैले उपमेयरसहित कार्यक्रम बहिष्कार गर्न बाध्य भएका हौं ।’

सम्मान प्रमाणपत्रमा नगर प्रमुख लुट बहादुर रावत, नगर सामाजिक विकास शाखाकी संयोजक नारायणि वली र शिक्षा शाखाका प्रमुख अनन्तकुमार पौड्यालको हस्ताक्षर राखिएको थियो । नगरपालिकाले आयोजना गरेको कार्यक्रम कुनै पार्टी निकट शिक्षक संगठनका नेताले सञ्चालन गरेको भन्दै नगर सभापति शर्माले विरोध जनाए । नगरपालिकाले आयोजना गरेका कार्यक्रमहरु विभिन्न कारणहरु देखाउँदै नेपाली काँग्रेस तथा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले बहिष्कार गर्दै आएका छन् ।

नगर विकास गर्न भन्दै मतदाताले जिताएर पठाएका आफ्ना प्रतिनिधीहरु आपसमा नै लड्न थालेपछि नगरबासीहरु भने निराश बन्न थालेका छन् । उनीहरुले आफ्ना जनप्रतिनिधीहरुलाई लडेर भन्दा पनी जुटेर कोहलपुरको विकास जुट्न आग्रह गरेका छन् । यता नगर प्रमुख लुट बहादुर रावतले हस्ताक्षरका विषयमा किन आपत्ति जनाएको भन्दै प्रश्न गरे । नगरको प्रमुखको तर्फबाट आफ्नो, सामाजिक विकास शाखा अन्तर्गत शिक्षा शाखा भएकाले सामाजिक विकास समितिकी संयोजक नारायणि वली र शिक्षा शाखा प्रमुुख अनन्त कुमार पौड्यालको हस्ताक्षर भएको उनले प्रस्ट पारे ।

‘कोहलपुरको विकास र समृद्वि सबैको सहकार्य र सहयोगमा मात्र सम्भव हुन्छ’ उनले भने, ‘सानासाना कुराहरुमा विवाद गर्नभन्दा पनी विकासमा हातेमालो गरौं ।’ वडा नं. १ का अध्यक्ष गोपि खनालले नगरपालिकामा सँधै विवाद आउनु राम्रो नभएको भन्दै सबै जिम्मेवार हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : २०७६ भदौ २३ गते सोमबार