कोहलपुर ।
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष सहित जनप्रतितिधिहरुले गौशालामा रहेका गाई संरक्षणको जिम्मा लिएका छन् । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले गाई संरक्षणको जिम्मा÷दायित्व लिएका हुन् । उनीहरुले वडा नम्बर ५ स्थित मटेहिया गौशालामा रहेका गाईहरुको पालन पोषणको लागि पाँच–पाँच वटाको जिम्मा लिएको गाउँपालिकाले जनाएको छ ।
‘गौशालाका लागि गाउँपालिकाले १६ लाख लगानी गरिसकेको छ’ गाउँपालिका अध्यक्ष शाहले भने, ‘चालू आर्थिक बर्षमा पनि थप ३० लाख लगानी गर्छौं,’ अध्यक्ष शाहले हाल त्यहाँ भएका गाईहरुको संरक्षणमा ध्यान दिँदै नेपालगञ्ज क्षेत्रमा रहेका छाडा गाईहरुलाई पनि मटेहिया गौशालामा ल्याएर पालिने बताए । अध्यक्ष शाहले ३ जना गाई हेरालुको पारिश्रमिक पनि गाउँपालिकाले ब्यहोर्ने प्रतिवद्धता व्यक्त गरे । दश महिनादेखि सञ्चालनमा आएको मटेहिया गौशालामा अहिले करिब ३ सय गाई रहेका छन् । मटेहिया छाडा पशु व्यवस्थापन समितिका सचिव रामनिवास यादव अनुसार गाई संरक्षणको एक घर एक गाई अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।
नरैनापुर गाउँपालिकाको सहयोग तथा समन्वयमा गाई संरक्षण अभियानलाई प्रभावकारी बनाईने भएको हो । ‘गाई संरक्षणका लागि एक सय जति व्यक्तिले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,’ यादवले भने , ‘गौशालाको व्यवस्थापन र गाईको संरक्षणका लागि स्थानीयले स्वःस्फूर्तरुपमा सहयोग गर्ने भएका छन् ।’ प्रत्येक ६ महिनामा प्रति घर २० किलो गहुँ वा चामल दिने प्रतिबद्धता आएका उनको भनाई छ । त्यसबाट हामीले गाईहरुको आहाराका लागि भुस, नुन र पराल किन्छौं ।’ गाउँपालिकाको सहयोगमा गत आर्थिक बर्षमा ३ वटा गाईगोठ बनाउनुका साथै गौशाला क्षेत्रमा तारजाली समेत निर्माण गरिएको थियो ।