बर्दिया।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट २ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै यहाँ गैंडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । जिल्लाको बारबर्दिया नगरपालिका बडा नं ४ स्थित कुसुम्भाघाटको सामुदायिक वनको जंगलमा शनिबार गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिका बडा नं ४ पदनाहा का १० वर्षीया सिखा थारु, बडा नं ४ बरकट्टाका ६५ वर्षीय जंगली थारु र वडा नं ५ का राम प्रसाद थारु घाइते भएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । सामुदायिक वनको बाटो भएर हिड्दै गरेका एक जना र जंगलमा घाँस काटदै गरेका २ जनालाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते राम प्रसादको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको साथै जंगली थारुको छाती र बालिका सिखा थारुको मुखमा गम्भिर चोट लागेको हुँद उपचार कोहलपुरको मेडिकल कलेजमा पठाइएको प्रहरी उपरिक्षक बास्तोलाले बताए । खाने कुरा खोज तलास को क्रममा गैडा बस्ती तिर पसेको आशंका गरिएको छ । सो सामुदायिक वन निकुञ्जसँग जोडिएको छ । अचानक मानिस गैँडा सामु पर्दा गैँडाले आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ । गैंडा एक्लो भएर भौतारिएर बस्ती पसेको बताइएको छ ।
विगत केहि महिनादेखि उक्त गैँडा बस्ती तिर जाने क्रम बढि देखिएकोले सो गैडालाई निकुञ्ज मै ल्याउनका लागि चितवनबाट प्राविधिक टोली बर्दिया बोलाइएको निकुञ्जले जनाएको छ । सामुदायिक वनमा पसेको गैँडालाई डार्ट गरि (बेहोस गराउने औषधि) निकुञ्जमा ल्याइने बताइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता पछिल्लो समय निकुञ्जका वन्यजन्तुबाट निकै त्रसीत छन् ।
निकुञ्जका बाघ, गैँडा र हात्ती लगाएतका वन्यजन्तु निकुञ्ज छाडेर बस्तीमा छिर्न थालेपछि यहाँका जनता निकै आतंकित भएका छन् । डेढ साताको अवधीमा यहाँ निकुञ्जबाट बस्तीमा आएको बाघको आक्रमणमा परि २ जनाको ज्यान गइसकेको छ । भने जंगली हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा
पसेर बालीनालीको नोक्सान गर्दै आएको छ ।