8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

छानविन गर्न मन्त्री राईको गृहमन्त्रालयलाई पत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६  

कोहलपुर ।

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज काञ्जीहाउसमा रहेका गाई सुर्खेतको जंगलमा मृत भेटिएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयलाई पत्र पठाएका छन् । घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै उनले यसमा छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए । पत्रमा मन्त्री राईले सामुहिक रुपमा गौहत्या गरिएको विषयमा सर्वसाधारणको आक्रोशलाई मत्थर पार्न गृहले सम्बन्धित निकाय र जिम्मेवार पक्षमाथि छानविन गनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय जनावरको उचित व्यवस्थापन र संरक्षण हुनुपर्नेमा सामुहिक रुपमा गाईलाई भीरबाट खसालेर मार्ने कार्य अन्यन्तै घृणित र अमानवीय भएको भन्दै मन्त्री राईले उक्त कार्यमा संलग्नलाई कडा कारबाही गर्न भनेका छन् । राष्ट्रिय जनावरको रुपमा रहेका गाईको उचित व्यवस्थापन र संरक्षण गर्नका लागि सांसद विकास कोषबाट एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको स्मरण गर्दै मन्त्री राईले भने ‘गाईको संरक्षणमा सरकार गम्भीर छ ।’ छाडा चौपायाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भएकाले नेपालजञ्ज उपमहानगरपालिकाले गाईको उचित व्यवस्थापन र संरक्षणमा ध्यानदिनुपर्नेमा भीरबाट खसालेर मार्नुले गम्भीर आशंका पैदा गरेको मन्त्री राईले उल्लेख गरे ।

प्रकाशित मितिः शनिबार, भदौ १४, २०७६     10:40:26 AM  |