सुर्खेतमा गौहत्या,चालकसहित पाँच ट्रक नियन्त्रणमा



कोहलपुर ।

सुर्खेतमा भएको गौहत्या घटनामा संलग्र रहेको आरोपमा चालकसहित ५ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । छाडाचौपाया नियन्त्रण गर्ने भन्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखको शीरस्थान लैजाने क्रममा बिहिबार राति सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालीएका थिए । गाई फालेर नेपालगञ्जतर्फ फर्कदै गरेका आठ वटा ट्रकमध्ये पाँच वटा ट्रक चालकसहित बबईबाट सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको हो । सुर्खेत प्रहरीका अनुसार ना ६ ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना ६ ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षका हिम ब.जिसी, ना ६ ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय विवेक कुवँर रहेका छन् ।

भे १ ख १०१५ नम्बरका चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर बिश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाउँपालिका १ का २९ वर्षीय सुकधन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा बीच बाटोमै ट्रकबाट खसालिएको सुर्खेत प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआइजी) पूर्णचन्द्र जोशीले कानुनी प्रक्रिया पूरागरी गाई ल्याईएपनि बिचबाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । वीरेन्द्रनगरको कटकुवामा भिरबाट खसालिएका झन्डै दुई सय चौपायामध्ये १६ वटाको मृत्यु भएको छ । जसमा १२ वटा गाई, ४ वटा गोरु मृत अवस्थामा भेटिएका छन् । सुर्खेत प्रहरीका अनुसार करिब तीन किलोमिटरको दुरीमा गाईहरु यत्रतत्र बेवारीसे अवस्थामा छन् । घटनास्थलमा हेर्दा केही गाई मरेको ओराले पनि अधिकांश गाई जवरजस्ती ढंगले गाडीबाट ओराल्ने क्रममा मृत्यु भएको देखिन्छ ।

अधिकांश मृत गाईहरु भिरबाट खसालिएको छ भने, केही सडकमै छोडिएको छ । अधिकांश गाईको अवस्था दयनीय छ । वीरेन्द्रनगर–१४ कटकुवाका स्थानीय लोकबहादुर रामजालीका अनुसार राति करिब ३ बजेतिर छोडेको हुनसक्ने बताए । ‘झण्डै राति तीन बजेतिर हो। म सुतिरहेको थिए । बारीमा एक्कासी आवाज आएपछि म उठेर हेर्दा गाईमात्रै,’ उनले भने, ‘त्यहाँ दायाँ बाँया हेरे यो गाई कसले किन ल्याएको भन्दै हेरेँ कसैलाई देखिनँ ।’ यस बिषयमा प्रहरीले मुचुल्का उठाएको छ । सो अनुसार मर्ने चौपायाहरुको संख्या अझै बढ्न सक्ने देखिन्छ । वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखा र प्रदेशको पशुसँग सम्बन्धित कार्यालयले औषधी उपचार गरिरहेका छन् । घटनास्थलमै रहेका पशु चिकित्सक नारायण न्यौपानेले गाई कसरी मरे भन्ने अनुसन्धान भईरहेको बताए । ‘बाहिरबाट हेर्दा त अहिल अलि चोट लागेको देखिन्छ ।’ उनले भने, ‘मरेका गाईहरुको बाहिरी र भित्री भाग पोस्टमार्टम हुन्छ । तब मात्रै खास के कारणले मरेका हुन् भन्ने पत्ता लाग्ला ।’

नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेको लापरवाहीले घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । सुर्खेत प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिएका चालकले पनि आफुहरुसँगै रहेका उपमहानगरपालिकाका कर्मचारीले छोड्न लगाएको बताएका छन् । अनौपचारिक कुरामा किन छोडेको भन्ने जिज्ञासामा प्रहरी कार्यालयभित्र रहेका एक चालकले भनेका थिए, ‘हामीले के गर्नु साथमा कर्मचारी थिए । उनले छोड्दे भनेर त्यही छोडेको हो ।’ उनका अनुसार गाई लिएर आएको ट्रकसँगै उप–महानगरपालिकाका कर्मचारीसमेत आएको पुष्टि हुन्छ । सुर्खेत प्रहरीले पनि उपमहानगरपालिका संलग्न रहेको संकेत गर्दै जुनसुकै भए पनि प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउने जनाएको छ । ‘यो घटना लगत मनसायले नै गराएको देखिन्छ’ सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले भने, ‘घटनामा संलग्न दोषि ठहरिए नगर, उप–महानगरको कर्मचारी वा मेयर नै किन नहोस् हामी मुद्दा चलाउँछौँ ।’ उनका अनुसार घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान भइरहेको छ । यसैबिच मृत अवस्थामा भेटिएका गाईको विषयमा छानबिन समिति गठन गर्ने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका विरुद्व स्थानीयबासी खनिएपछि प्रशासनसँगको सहकार्यमा छानबिन समिति गठन गरिने उपमहानगरपालिकाको आस्कमिक बैठकले निर्णय गरेको हो । शुक्रबार विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले पशु, चौपायाहरुको अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएको हो वा अन्य कारणले हो भन्ने विषयमा छानबिनका लागि समिति गठन गर्ने जानकारी दिएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवासम्म गाडीमा र त्यहाँदेखि पैदल दैखेलको धार्मिक महत्वको क्षेत्र श्रीस्थानका लागि लाने क्रममा पशु चौपायाको मृत्यु भएको उप–महानगरपालिकाले जनाएको छ ।

उप–महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिलसिंह हमालद्वारा जारी विज्ञप्तिमा नेपालगन्ज उपमहानगरपालिकामा रहेका छाडा पशु चौपाया व्यवस्थापनका लागि दैलेख पठाइएको बताइएको छ । विज्ञप्तिमा कसलाई कती रकम दिएर गाई गोरु लिन दिइएको हो, साथमा कर्मचारी कोको गएका थिए लगायतका बिषय भने उल्लेख गरिएको छैन । नगरबासीले भने यत्रो घटना हुँदा समेत उपमहानगरपालिको सही सुचना दिनुको साटो विज्ञप्ति निकालेर औपचारिकता निभाउने काम मात्र गरेको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १४ गते शनिबार