कोहलपुर, ८ भदौ , कानुनले तोकेको उमेरमा नै छोरीहरुको विवाह गराउन माग गर्दै बाँके नेपालगञ्जका किशोरीहरुले ज्ञापनपत्र बुझाएका छन् । नगरस्तरिय किशोरी संजाल नेपालगञ्जले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष पुजा बर्माको नेतृत्वमा गएका किशोरीहरुको समुहले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई बालविवाह रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । २०७५ साल भदौं १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० बर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ ।
नेपालको कानुनलाई नै चुनौती दिदै बाँकेमा महिलाहरुको एक समुहले १६ बर्षमा नै छोरीहरुको विवाह गर्न पाउनुपर्ने भन्दै आन्दोलन थालेपछि किशोरीहरु प्रमुख जिल्ला अधिकारीलाई कारबाहीको लागि गुहार्न पुगेका हुन् । ‘नेपालको कानुनलाई नै चुनौती दिदै बालविवाह गर्न पाउनुपर्छ भन्दै आन्दोलन चर्काउनु जायज होइन’ नगरस्तरिय किशोरी संजालकी अध्यक्ष बर्माले भनिन्, ‘कानुन बनेको एक बर्ष नपुग्दै त्यसैलाई चुनौती दिने समुहलाई कारबाहीको दायरामा प्रशासनले ल्याउनुपर्छ ।’ उनीहरुले अझै पनी जिल्लामा लुकिछिपी बालविवाह हुने गरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई त्यसतर्फ ध्यान दिन समेत आग्रह गरेका थिए । छोरीहरुको विवाह १६ बर्षमा गर्न पाउनुपर्ने भन्दै नेपालगञ्ज र जानकीका मधेशी मुलका महिलाहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै धर्ना समेत दिन भ्याइसकेका छन् । महिलाहरुको समुहले नेपालगञ्जमा सोही माग राखेर सडक अवरुद्व समेत गरिसकेको छ ।
बालविवाह न्यूनीकरण गर्नका लागि आफूहरूले अभियान नै चलाइरहेका बेला केही अभिभावकको अभिव्यक्तिले चुनौती थपिदिएको बालअधिकारकर्मी श्वेता गुरुङ बताउँछिन् । ‘समाजका अभिभावक भनेका नै १६ मा बर्षमा नै छोरीहरुको बिहे गर्नपाउनुपर्छ भनेर महिलाहरु उचालिरहेका छन्’ उनले भनिन्, ‘खुलेआम कानुनलाई चुनौतीदिदासम्म समेत प्रशासनले केही गर्न सक्दैन ।’ अभिभावकहरूको मागप्रति विमति जनाउँदै उनीहरूले बाँकेलाई बालविवाहमुक्त जिल्ला बनाउन माग गर्दै आठै स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुजेलले कसैले बालविवाह गरेको पाइएमा कारवाही गरिने प्रतिबद्वता जनाए । ‘लोकतन्त्रमा आफुलाई लागेका कुरा राख्नु अधिकार हो’ उनले भने, ‘यस्ता माग राख्ने अभिभावकहरुलाई सबै मिलेर सम्झाउनुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्